आजदेखि ४ दिन भारी वर्षा हुने, सतर्क रहन अपिल

काठमाडौँ – आजदेखि ४ दिन यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा सतर्क रहन राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २ बाग्मती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने जनाएको हो ।

प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलद्वारा जारी विज्ञप्तिमा पहाडी क्षेत्रका साना खोलामा समेत बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।