काठमाडौँमा कोरोना : यी स्थानमा बस्नेहरु सजग बन्नुपर्ने

काठमाडौँ – लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डे अनुसार २६७ जना काठमाडौं ठेगाना भएका व्यक्तिहरु कोरोना संक्रमित छन् । ती मध्ये १७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र ४३ जना भक्तपुरमा रहेका छन् । ती मध्ये ७९ जना संक्रमितहरु विदेशबाट हवाइ उद्धारमार्फत नेपाल आएका व्यक्तिहरु हुन् ।

यी स्थानमा बस्नेहरु सजग बनौँ

डा. पाण्डेका अनुसार उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो ।

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको डा. पाण्डेको भनाइ छ । लकडाउनको समयमा हवाइ उद्धार मार्फत नेपाल आएका १७ हजार जना व्यक्ति मध्ये ३५ प्रतिशतले मात्र कोरोना परीक्षणको रिपोर्ट लिएर आएको तथा ३५ प्रतिशतले आरडीटी परीक्षण गरेर आएका र अन्य व्यक्तिले कुनै पनि परीक्षण नगरी कोरोना फ्रि लेखिएको कागजात मात्र लिएर आएको डा पाण्डेले बताए ।

यस्तै काठमाडौंमा उपत्यका बाहिरबाट आएका प्रहरीलाई छलेर उपत्यकामा आएका तर कन्ट्याक ट्रेसिङमा नपरेका व्यक्तिहरुबाट कोरोना संक्रमण भएको पाइएको छ ।