क्वारेन्टाइनमा १४ दिन, घर फर्किएलगत्तै मृत्यु, मृत्युसँगै कोरोना

काठमाडौँ । क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै हिजो बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पतालमा मृत्युपछि गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिए।

मृत्युलगत्तै प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मीहरूको टोली नमूना संकलन गर्न पन्चपुरी पुगेका थिए। त्यहाँबाट अपराह्न नमुना सुर्खेत ल्याएर मध्यरातमा परीक्षण गरिएको थियो।

क्‍वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई २१ जेठमा घर पठाइएको थियो।

युवकसहित जनता मावि विद्यापुर क्‍वारेन्टाइनमा रहेका वडा नम्बर १ का ६ जनालाई २१ जेठ दिउँसो घर पठाइएको थियो।

७ जेठमा भारतको मुम्बईबाट आएका उनीहरूलाई १४ दिन क्‍वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि घर पठाइएको थियो। यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।