निजीको प्रस्ताव : कोरोना नदेखिएका स्थानमा विद्यालय खोलौँ

काठमाडौँ – निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसानलगायतले आज सरकारलाई लिखित सुझाव पेश गर्दैछन् । कोराना संक्रमणका कारण बढ्दो लकडाउनका कारण ठप्प शिक्षणसंस्था चलायमान बनाउनेबारे लकडाउनको मोडालिटी परिवर्तन र शिक्षण संस्थालाई चलायमान बनाउने गरी सुझाव तय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले खुल्लापाटीलाई जानकारी दिए ।

‘अहिले पनि १९ जिल्लामा कोरोना संक्रमण देखिएको छैन । संक्रमण नदेखिएका स्थानमा तत्काल शैक्षिक क्रियाकलाप थाल्ने र देखिएका जिल्लामा रेड जोन, ग्रीन जोन घोषणा गरी आवश्यक तयारी गर्ने गरी वातावरण मिलाइदिन सरकारलाई आग्रह गर्दैछौँ ।’ उनले बताए ।

‘संक्रमण बढी देखिएका जिल्लामा तत्काल विद्यालय खुल्ने अवस्था नरहेपनि संक्रमण नभएका स्थानमा खोलौँ भन्ने हो । अन्य विषयबारे आजै प्याब्सनको हाइलेभल मिटिङ बसेर सरकारलाई लिखित सुझाव पेश गर्छौँ । ’ उनले स्पष्ट पारे । निजी विद्यालयले असार १ गतेदेखि विद्यार्थी भर्ना लगायतका काम थाल्नुपर्ने भन्दै वातावरण सहजीकराणको माग गरेका छन् ।

यसअघि विहीबार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले शैक्षिक क्रियाकलाप ठप्प बनाउन नहुने भन्दै सरकारसँग आग्रह गरेका थिए ।

उच्चस्तरीय समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्दैछन् । विहीबारको बैठकमा हिसान, प्याब्सन, एन–प्याब्सन, इन्जिनियरिङ, सबै विश्वविद्यालयसँग आबद्ध कलेज, सीटीईभीटी आबद्ध कलेजका सञ्चालकको उपस्थिति रहेको थियो ।

बैठकमा असार १ गतेबाट विद्यालय र कलेजको प्रशासन खुला गर्ने, विद्यार्थीलाई अनलाइनमार्फत पढाइ शुरू गर्ने, नयाँ भर्ना शुरू गर्ने, शिक्षक कर्मचारीलाई तलब दिन र अन्य व्यवस्थापन गर्न सरकारसँग सहुलियत कर्जा माग गर्ने लगायतका विषयमा छलफल भएको बानियाँले बताए ।