विदेशमा अड्किएका नागरिकलाई आजदेखि स्वदेश ल्याईँदै

काठमाडौँ – महामारीका कारण विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई आजबाट स्वदेश फर्काइदै छ । मन्त्रिपरिषदको हालैको निर्णय अनुसार आवश्यक तयारी पूरा गरी आजबाट स्वदेश फर्काउन लागिएको हो ।

पहिलो चरणमा १९४ जना नेपाली काठमाडौं आइपुग्ने तय भएको छ। म्यानमारमा अलपत्र परेका २६ जना नेपाली लिएर त्यहाँको सैनिक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

त्यसैगरी, युनाइटेड अरब इमिरेट्स (यूएई) बाट एअर अरेवियाको जहाजमा १६८ जना नेपाली पनि आज नै काठमाडौं आइपुग्ने टुङ्गो लागेको छ।

विदेशबाट उद्धार गरिएका नेपालीहरुलाई राख्नका लागि काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ ।

काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ र भक्तपुरमा एक, एक हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९०० क्षमताका छन् ।

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पुरा भइसकेको जानकारी दिनुभयो ।

अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङसेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उहाँले जानकारी दिनुभयो ।

सरकारले काठमाडौँको यति पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ ।

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ ।

४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।