गुरु पूर्णिमाको महत्व

केशव आचार्य

आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुको महान पर्वका रुपमा रहेको यस गुरुपूर्णिमा लाई श्रद्धापूर्वक मनाउने गरिन्छ । आफूलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई गुरुपूर्णिमा वा गुरुव्यास पूजा मनाउने चलन परापूर्व कालदेखि चलि आएको छ ।

मानव जीवनमा गुरुको महिमा असाध्यै ठूलो र महत्त्वपूर्ण रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश छर्ने गुरुको स्मरण गर्ने र गुरुको महिमा एवम् श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएकोले आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ ।

आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । आषाढ शुक्ल पूर्णिमा व्यास पूर्णिमा हो, यस दिन महर्षि वेदव्यास प्राकट्य भएकाले व्यासदेवको जन्म जयन्ती भनेर भव्यताका साथ मनाउने गर्दछौं ।

व्यासदेव ले वेदको विस्तार गर्नु भएको हुनाले वेदव्यास र छोट्करिमा व्यास भन्ने पनि गरिन्छ ।
वेदव्यासले नछुनु भएको आर्य संस्कृतिको कुनै विषय छैन । उहाँले प्रत्येक क्षेत्रमा दृष्टि पुर्याउनु भएको छ , निगम आगमका सारा शास्त्र र सिद्धान्तमा व्यासदेव पूर्णज्ञाता हुनुहुन्छ । भनाइ नै छ यो सम्पूर्ण जगत व्यासदेवको उच्छिष्टहो भनेर , (व्यसोच्छिष्टमिदं जगत )

सनातन धर्म संस्कृतिको परम्परामा गुरुको महत्त्व र स्थान गरिमामय र अति उच्चतम रहि आएको छ। गुरुले दिने ज्ञान सीप कला र त्यसको मानव जीवन संगको सम्बन्ध एकदमै गहिरो नाता रहि आएकोले गुरुलाई हामी सर्वोपरि मान सम्मान र आदर सत्कार गर्ने गर्दछौं ।
भनिन्छ [ यस्य देवे परा भक्तिर्यथा देवे तथा गुरौ ]

जुन प्रकार हामीले आफ्ना आराध्य परमेश्वर इष्टदेव प्रति जति भक्ति र श्रद्धा गरिन्छ , त्यतिनै श्रद्धा र भक्ति गुरुप्रति हुनुपर्छ भन्ने उपनिषद्को भनाइ छ ।

गुरु कसलाई भनिन्छ – श्रोत्रिय ब्रह्मनिष्ठ – सबै शास्त्रको निचोड लाई जान्ने एवं तत्वज्ञ जीवन मुक्त महापुरुष लाई गुरु भनिन्छ, अर्थात् अज्ञान र अचेतनाको अन्ध्यारो बाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने , पथ प्रदर्शक , जसको दर्शन , स्पर्श , भाषण र चिन्तन देखि हाम्रो दुर्गुण दूर भइ शान्ति र दैविक सद्गुणहरुको उदउ हुन्छ ।

जसका वचन द्वारा हामी भित्रको सम्पूर्ण शंका र संशयहरुको समाधान हुन्छ र अन्तःकरण शुद्ध भइ जब परमात्माको मार्ग तर्फ जाने प्रेरणा मिल्छ , प्रकाश मिल्छ , ज्ञान मिल्छ , सत्मार्ग देखिन्छ , कर्तव्यबोध हुन्छ , ध्येय देखिन्छ , र पारमार्थिक कुरा राम्रो लाग्न थाल्द छ भने वास्तवमा त्यो नै गुरुतत्व हो । त्यो गुरुतत्व जुन महापुरुष बाट प्राप्त हुन्छ , प्रकट हुन्छ , त्यसैलाई गुरु मान्नुपर्छ भन्ने शास्त्रीय भनाइ छ ।

सनातन धर्म संस्कृतिमा गुरु शिष्यको महान परम्परा छ , जसले एक पुस्ता देखि ज्ञान अर्को पुस्ता सम्म पुर्याउछन् , यसरी नै गुरु शिष्य परम्पराको कारणले ज्ञानको प्रवाह वैदिक काल देखि मध्यम र वर्तमान काल सम्म पनि अक्षुणरुपमा निरन्तर बगिरहेको छ।

जुनसुकै धर्म या समुदायको भए पनि ज्ञान र सीप ग्रहण गर्नका लागि गुरुको शरणमा पुग्नै पर्ने हुन्छ , संसार जतिसुकै आधुनिक र ज्ञानहरु जतिसुकै सहज र व्यवसायीक रुपमा उपलब्ध भए पनि गुरु बिना पूर्णरूपमा ज्ञान हुन सक्दैन त्यसैले संसारमा गुरु र गुरुत्वको दीयो अझै बलि रहेछ र आगे पनि बलिनै रहनेछ ।

त्यही गुरुतत्वको ज्ञान र महत्त्व लाई आत्मसात् गरेर आउँदा पुस्तालाई पनि गुरुको ज्ञान गुरुत्वको महत्त्व यसरी नै प्रत्येक वर्ष गुरुपूर्णिमाका दिन दर्शाउने गरिन्छ , त्यसकारण सनातन धर्म संस्कृतिमा हजारौं युग बिते पनि गुरुलाई आदर र श्रद्धाका साथ हेर्ने र मान्ने गरिन्छ ।

गुरुलाई सामान्यतया तीन श्रेणीमा विभाजन गरेको पाइन्छ , विद्यागुरु, दीक्षागुरु र सद्गुरु , हामीलाई जसबाट शिक्षा मिल्छ, विद्या पढिन्छ , जुन विषयमा ज्ञान मिल्छ , सीप मिल्छ , लाभ हुन्छ त्यो विद्या गुरु हो ।

जसमा माता, पिता, शिक्षक, आचार्य आदि विद्या गुरु अन्तर्गत आउँछन् ।जसबाट यज्ञोपवीत धारण गरिन्छ ,कण्ठी लगाइन्छ,दीक्षा लिइन्छ त्यो दीक्षा गुरु हो र जसबाट सत्य तत्वको बोध हुन्छ आत्मज्ञान हुन्छ पूर्णज्ञान मिल्छ , त्यो सद्गुरु हो ।

गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते ।
अज्ञान ग्रासकं ब्रह्म गुरुरेव न संशय ।।

गु शब्द भनेको अन्धकार , अज्ञान , अविद्या हो भने , रु शब्द भनेको त्यसको विपरीत तेजहो , ज्ञानहो, उज्यालो प्रकाश हो । जुन अन्त:करणको अन्धेरोलाई दूर गराइ उज्यालोरुपी ज्ञानको दीपक बालिदिने लाई नै गुरु भनिन्छ , बाहिरी अन्धकार लाई सूर्यदेवले दूर गराइ दिनुहुन्छ भने भित्री अज्ञानरुपी अन्धकार लाई गुरुदेवले दूर गराइ दिनुहुन्छ । त्यसकारण गुरुको महिमा अपार छ ।

अनेक जन्म संप्राप्त कर्मबन्ध विदाहिने ।
आत्मज्ञान प्रदानेन तस्मै श्री गुरवे नम: ।।

मानिसले अनेक अतीत जन्महरु विताइ सकेका छन् ती जन्महरुमा गरेकोे कर्महरु संस्कारको रुपमा जम्मा भइ रहेका हुन्छन् , ती अनेक जन्मका कर्मरुपी बन्धनमा बाँधिएका मनुष्य लाई तत्वज्ञान द्वारा अर्थात् आत्मज्ञान प्रदान गरेर कर्मबन्धन बाट छुटाई दिने गुरुलाईनै सद्गुरु भनिन्छ ।
गु शब्दस्त्वन्धकारस्यात् रु शब्दस्तन्निरोधत ।
अन्धकार निरोधत्वाद् गुरुरित्यविधियते ।।

यो अन्धकार मायारुपी संसार बाट उज्यालो प्रकाशमय भगवानमा जसले पुर्याउन सक्छ त्यसको नामहो गुरु ।

हाम्रो पूर्वीय आर्य संस्कृतिमा गुरुलाई ईश्वरको स्थान प्रदान गरिएको छ , गुरु र भगवानमा भेद राख्न हुदैन भनिन्छ , गुरु र गोविन्दको दर्शन संगै भयो भने सर्व प्रथम गुरुलाई बन्दना गरि अनि भगवान लाई ढोग प्रणाम गर्नु पर्छ भन्ने शास्त्रीय मान्यता छ । किनकि गुरुले भगवान संग पुग्ने मार्ग देखाइदिनु भएको हुनाले गुरुलाई प्रथम बन्धना गरिएको हो , त्यसैलेत हामी भन्ने गर्दछौं ,,,,,,,,,,

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे मनः।।

गुरुब्रह्मा हुन्, गुरुविष्णु हुन्, गुरुमहादेव हुन् , र गुरुनै परब्रह्म स्वरुप हुन्, यसकारण गुरु शब्द कुनै व्यक्ति या शरीरको नाम होइन , गुरु शब्द कुनै स्त्री या पुरुषको नाम पनि होइन , गुरु केहो त? गुरु एक ईश्वरीय शक्तिको नाम हो , गुरु एक तत्वको नाम हो , गुरु एक नाद हो , गुरु मन्त्र हो , गुरु ब्रह्मस्वरुप हो , गुरु भगवानको रुप हो , गुरु मोक्षको सोपान हो , गुरु ज्ञानको भण्डार हो , गुरु कृपा हो , गुरु एक वाक्य हो , गुरु हरेक प्रश्नको उत्तर हो , गुरु हरेक विपत्तिको उपाय हो , गुरु मार्गदर्शक हो , गुरु एक परं तीर्थ हो र गुरु एक परं देवता हो भने गुरु एक अध्यात्मको परिभाषा हो ।

मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरोर्कृपा ।।
भुक्ति मुक्ति प्रदाताय तस्मै श्री गुरवे नमः ।।
तस्माद् गुरुः परं तीर्थं ।।
गुरुः परम दैवतम् ।।
शिष्याणां हित चिन्तक: ।।

इत्यादि भनेर गुरुको गुणगान गर्ने गर्दछौं । गुरु शब्दको यति ठूलो परिभाषा छ । जति व्याख्यान गरेता पनि अधुरै रहनेछ । हाम्रा पूर्वज ऋषिमुनि हरुको जीवन शैली ,जीवन दर्शन ,विचार पध्दति , उपासना पध्दति र सामाजिक मूल्यमान्यता सहितको तत्वज्ञान प्रतिको चिन्तन मन्थन गर्ने दिनहो गुरुपूर्णिमा ।

हामीले गुरु मार्फत हासिल गरेको ज्ञान विवेक र शिपले आफ्नो जीवनमा पारेको प्रभाव प्रति स्मरण गरि आभार व्यक्त गर्ने दिनहो गुरुपूर्णिमा । सनातन धर्ममा गुरुशिष्यको महान परम्परा छ , गुरुशिष्यको परम्पराको कारणले नै ज्ञानको प्रवाह अक्षुणरुपमा निरन्तर बगिरहेको छ तसर्थ निर्मल मन देखि गुरुको सेवा गर्नु गुरुले दिएको ज्ञान अनुसारको जीवन यापन गर्नु नै वास्तविक गुरुदक्षिणा हो ।

गुरुबाट प्राप्त ज्ञानको अनुसरण गर्दै आगे भविष्यमा पनि ज्ञानको पथमा सधैं अगाडि बढ्दै जाने प्रतिज्ञाको साथै माता पिता गुरु र वेद , उपनिषद् , पुराण आदि जस्ता सनातन वैदिक धर्म ग्रन्थ प्रति आभार व्यक्त गर्ने दिन हो गुरुपूर्णिमा ।

हामीलाई एक अक्षर सिकाउने पहिलो चरणको शिक्षा दिने गुरु देखि लिएर जीवनको अन्तिम चरणको तत्वज्ञान सम्म हासिल गराइदिने सम्पूर्ण गुरुजन हरुलाई स्मरण गरि कोटि कोटि धन्यवाद र नमन गरिने दिनहो गुरुपूर्णिमा।