आज गुरु पूर्णिमा, गुरुप्रति आदरभाव गरी मनाईँदै

काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा। आजका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुप्रतिको आदरभाव त्रिदेवसँग यसरी तुलना गरिएको छ –

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।

अर्थात् गुरु नै ब्रहमा, विष्णु, महेश्वर हुन् । गुरु नै साक्षात् परब्रह्म हुन् त्यस्ता गुरुलाई प्रणाम गर्दछु ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।