एन्फा : सामाजिक उत्तरदायित्व–एउटा पाटो तर फरक बाटो

उत्तमराज भण्डारी

केही महिना पहिले शनिबारको दिन अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको सामाजिक उत्तरदायित्व समितिको संयोजनमा एन्फा पदाधिकारीसहित खेल क्षेत्र सम्बद्ध धेरैले बि एण्ड बि अस्पताल अगाडि कुचो लगाउँदै थिए । एउटी वृद्ध महिलाले प्लाष्टिकको पोको लिएर आईन र फुत्त फालिन । एक जना फोहोर टिप्दै गरेका सहभागीले सोधे–‘यो के गर्नुभएको आमा ? देख्नु भएन हामी सफा गरिरहेका छौँ ।’

उनले सजिलै जवाफ दिंदै प्रतिप्रश्न गरिन – ‘फोहोर राखेको नि, सँधै यहि राख्ने गरेको हो ! त्यही गरेँ, के गल्ती गरेँ ?’ बुढी आमा च्याँठ्ठिइन । यो सुनेर त्यही रहेका एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो – ‘यति धेरै फोहोर जम्मा भएछ । आमै, दुर्गन्ध पनि फैलिएको छ, यसले गर्दा संक्रमण हुन्छ र रोगहरु लाग्न सक्छ भनेर सफा गरेको नि । ’

उनले फेरि सोधिन –‘यो तपाईहरुको काम हो र ? तपाईलाई के मतलब ?’ आमैको यस्तो कुरा सुनेर एन्फाकै महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो – – ‘हाम्रै काम त होइन तर हामीले पनि गर्न मिल्छ । तर फोहोर भएपछि सफा गर्न आउनु भन्दा जथाभाबी फोहोर नै नगर्ने बानी बसाल्यौँ भने आफ्नै वरिपरि दुर्गन्ध पनि आउँदैन, वातावरण पनि सफा हुन्छ । रोग लाग्न पाउँदैन जसले गर्दा समय र सम्पत्तिको पनि बचत हुन्छ । त्यसैले आफूले पनि फोहोर गर्नुहुन्न र अरुलाई पनि गर्न दिनुहुन्न ।’

यो कुरा चित्त बुझेर होला मुस्कुराउदैं उनले सोधिन– ‘बाबुहरु कहाँबाट आउनु भयो नि ?’ नजिकै रहेको एन्फाको अफिस देखाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने –‘हामी उ.. त्यहाँमाथि फुटबल संघको अफिसदेखि सरसफाई गर्दै आएका हौँ ।’ बूढी आमैले फेरि सोधिन– ‘फुटबल खेल्ने मान्छेले पनि फोहोर टिपेर हिँड्छन त ?’ यो सुनेर उपेन्द्रमान सिंले भने – ‘सफाइको लागि गर्छन नि आमा । आफ्नो घर अफिस वरिपरि सफा राख्नु हामी सबैको कर्तव्य हो । हाम्रो पनि समाजप्रति जिम्मेवारी हुन्छ दायित्व हुन्छ नि, होइन र ?’

‘हामी सबैलाई फुटबल खेल्नका लागि पनि त स्वच्छ हावा, सफा वातावरण चाहिन्छ नि । ’ खेलाडी सावित्री भण्डारीले थपिन । ‘वातावरण फोहोर भए मान्छेहरु रोगी हुन्छन, हामी खेलाडीहरु पनि अस्वस्थ हुन्छौँ अनि कसरी सफा र राम्रो नतिजा आउँछ त आमा ?’ उनले कुरा टुंग्याइन । ‘समाजप्रतिको हाम्रो उत्तरदायित्व पूरा गर्न यो सरसफाई कार्यक्रम गरेको हो, हामी सबै मिलेर वातावरण सफा राख्न पर्छ आमा’ –पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख हरि खड्काले प्रष्ट पारे । आमा मुस्कुराइन र बाटो लागिन ।

अखिल नेपाल फुटबल संघको सामाजिक उत्तरदायित्व समितिले गरेका विभिन्न कार्यक्रम अन्तर्गत हालै गरिएको एक कार्यक्रमको सन्दर्भ हो यो । सामाजिक उत्तरदायित्व समितिले असाध्यै सीमित स्रोतबाट पनि प्रभावकारी कार्यक्रमहरु सम्पन्न गर्ने नीति लिए अनुरुप विभिन्न कामहरु गरेको छ । समितिका कामहरुको छोटकरीमा यहाँ चर्चा गरिएको छ ।

१. पहिलो प्रयासको रुपमा संयुक्त राष्ट्रसंघको (UNDP)को दिगो विकास लक्ष्य (Sustainable Development Goals) कार्यक्रमको लक्ष्य प्राप्तिको लागि अखिल नेपाल फुटबल संघसँगको सहकार्यमा संयुक्त रुपमा अगाडी बढाउन सम्झौता भएकोे थियो ।

दिगो विकास लक्ष्यका पाँच स्तम्भहरु पृथ्वी, मानव, समृद्धि , शान्ति र साझेदारी अन्तर्गतका १७ लक्ष्यहरु प्राप्त गर्न शहिद स्मारक ए डिभिजन लिग प्रतियोगितामा सहभागी १४ वटा ए डिभिजनका क्लबहरुसँग साझेदारी गर्दै क्लबको जर्सीमा स्टिकर प्रयोग गरी सम्बोधन गर्ने काम भएको थियो ।

२. AFC ले अखिल नेपाल फुटबल संघलाई आह्वान गरे अनुसार Dream Asia Award 2019 को लागि विभिन्न विधामा नतिजामुखि प्रतिस्पर्धीको खोजी गरी छनौट गरियो र नाम सिफारिस गर्ने काम भयो । जसमा  Individual Category तर्फ आश्रय नेपालकी खुश्वु ओली र NGO Category तर्फ Plan international लाई सिफारिस गरिएको थियो ।

Sept 28, 2018  मा AFC Headquarter मा आयोजित Dream Asia Award 2018 मा नेपालको प्रतिनिधित्व गर्दै सामाजिक उत्तरदायित्व समितिको तर्फबाट AFC ले २०७२ सालको विनासकारी भुकम्बबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको स्याउले स्थित भग्नावशेषमा परिणत भएको श्री सेतिदेवि मा.वि. को विद्यालय भवन पुर्ननिर्माण गरेर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको विषयमा अखिल नेपाल फुटबल संघको तर्फबाट विशेष धन्यबाद सहित मन्तब्य व्यक्त गरियो ।

उक्त कार्यक्रममा सेतिदेवी मा.वि.को पुनः निर्माण र त्यसले भुकम्पग्रस्त विद्यालयका विद्यार्थीको जीवनमा ल्याएको परिवर्तन, नेपालमा फुटबल मोह र फुटबलकर्मीहरुको चाहना, नयाँ नेतृत्वले लिएको लक्ष्यका सम्बन्धमा वृतचित्र सहितको प्रस्तुती गरिएको थियो । उक्त प्रस्तुतीलाई महत्वकोसाथ हेरिएको थियो । कार्यक्रममा नेपालको तर्फबाट सिफारिस गरिएकी व्यक्तिगत विधाकी प्रतिस्पर्धी खुस्वु ओलीले विजयी भई १०,००० डलर पुरस्कार जित्न सफल भएकी थिइन् ।


३. 2019 January मा सम्पन्न Amputee Football Society ले आयोजना गरेको National Amputee Football Championship 2075 (कम्तिमा एक हात वा खुट्टा नभएका खेलाडीहरुले मात्र खेल्न पाउने) प्रतियोगिताका लागि सबै प्रकारका प्राविधिक सहयोग र फुटबल खेल्नका लागि आवश्यक खेल सामाग्रीहरु उपलब्ध गराएर अखिल नेपाल फुटबल संघले सहकार्य गरेको थियो ।

४. पहिलो पटक काठमाडौं उपत्यका बाहिर विराटनगरमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुँदै थियो । रगंशाला अन्तिम समयसम्म पनि धेरै कामहरु बाँकी थिए । तरपनि एन्फाका सम्पूर्ण पदाधिकारीहरु, जिल्ला फुटबल संघ, विराटनगर नगरपालिका तथा स्थानीय प्रशासनको साथै सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुको सक्रियतामा SAFF WOMEN’S FOOTBALL CHAMPIONSHIP 2019 भब्य रुपमा सम्पन्न भयो । यस प्रतियोगिता सुरु हुनु अगाडि विराटनगरमा सडक निर्माण कार्य भैरहेकोले अधिकांस ठाउँमा धुलो र फोहोरले गर्दा सबैको स्वास्थ्य र वातावरणमा असर परिरहेको थियो ।

सोही अवस्थालाई मध्यनजर गरी 12 March 2019 का दिन एन्फाको आयोजनामा प्रदेश नं. १ का सामाजिक विकास मन्त्रीको प्रमुख आतिथ्यमा विराटनगर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय संघसस्थाहरुको व्यापक सहभागितामा “वृहत सरसफाई कार्यक्रम” सम्पन्न गरियो ।


५. SAFF WOMEN’S FOOTBALL CHAMPIONSHIP 2019 को उद्घाटन कार्यक्रममा विश्व शान्तिको कामना गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत अतिथीहरुबाट शान्तिको प्रतिक परेवा उडाउने काम सम्पन्न भयो ।


साथै लागु पदार्थका कारण धेरै युवायुवतीहरुले आफ्नो जीवन नै अन्धकारमय बनाईरहेको सन्दर्भमा स्वास्थ्य नै सबै भन्दा ठूलो सम्पत्ति हो भन्ने मान्यता अनुरुप लागु पदार्थलाई पूर्ण रुपमा निषेध गर्न सचेतना फैलाउने हिसावले समितिले सिफारिस गरेको “Red Card to Drugs” भन्ने नारालाई स्थानीय असहाय केन्द्रका अपांगता भएका महिलाहरुद्वारा हिव्लचेयरबाटै बेलुनको गुच्छामा उडाएर सार्वजनिक गरिएको थियो ।

उक्त नारा अंकित बोर्ड मैदानको सबैतिर देखिने ठाँउहरुमा राखेर सचेतना फैलाउने काम भएको थियो । साथै अखिल नेपाल फुटबल संघ वा उसले मान्यता दिएको सबै प्रतियोगिताहरुमा उक्त नारालाई एन्फाको मैदानको सबैले देख्न सक्ने ठाँउमा राख्नुपर्ने प्रावधान लागु गरिएको छ ।


६. ललितपुर जिल्लाको सातदोबाटो स्थित खेलकुद परिसर देखि बि एण्ड बि अस्पतालसम्मको खण्डमा जम्मा भएका फोहोर तथा बाहिरबाट समेत ल्याएर विभिन्न ठाँउमा थुपारिएको फोहोरले वातावरणमा प्रतिकुल असर पारिरहेको तथा दुर्गन्धका कारण आवतजावत समेत गर्न कठिन भैरहेको अवस्थामा Apr 27, 2019 शनिवारका दिने सरसफाई कार्यक्रम आयोजना गरियो । फोहोरको मात्रालाई ध्यानमा राखेर स्थानीय वडासंग सहकार्य गरिएको उक्त सरसफाईमा करिव ५ टन भन्दा बढी फोहोर संकलन गरिएको थियो ।



७. स्वस्थ रहनाका लागि स्वच्छ वातावरण चाहिन्छ । स्वच्छ वातावरणका लागि आफ्नो वरीपरी हरियाली र वोटविरुवाको पनि आवश्यकता हुन्छ । त्यसका लागि एन्फा परिसर अगाडिको क्षेत्रमा वृक्षारोपण गर्ने सोच बनाए पश्चात 29 June, 2019  शनिवारका दिन वृक्षारोपण दिवस २०७६ को सन्दर्भ पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरियो । सरसफाई गरी सफा बनाइएको उक्त क्षेत्रमा वृक्षारोपणको कार्यक्रमले गर्दास्वच्छ वातावरण निर्माणमा सकारात्मक प्रभाव पर्न सो क्षेत्रमा फोहोर गर्न हुन्न सन्देश प्रवाह हुन पुगेको थियो ।


८. Asian Football Confederation (AFC) ले हरेक वर्ष आयोजना गर्ने Dream Asia Award 2019, Individual and को लागि सामाजिक उत्तरदायित्व अन्तरगत फुटबलको क्षेत्रमा काम गर्ने नेपाल भित्रका विभिन्न व्यक्तिहरु तथा संस्थागत मध्येबाट सिफारिस गरेर पठाउनु पर्ने थियो । चुनौतीहरुका बिच उपयुक्त प्रत्यासी खोज्ने क्रममा धेरै मिहिनेत गरेर हामीले व्यक्तिगत स्पर्धामा एउटा र संस्थागतमा दुईवटा नाम सिफारिस गरेर AFC मा पठायौँ ।

ती मध्ये Individual Category मा भोजराज भाटलाई सिफारिस गरेको थियोैं । सौभाग्यबस उहाँले नै अवार्ड जित्नुभयो । धेरै प्रतिस्पिर्धीहरुलाई पछाडी पार्दै १०,००० डलर नगद सहितको प्रथम पुरस्कारकोे श्री भाट विजेता बन्न सफल हुनुभएको थियो । त्यस्तै NGO Category मा आश्रय नेपाल र Childreach Nepal क्रमशः दोश्रो र तेश्रो हुनुभएको थियो ।


९. १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पूर्वसन्ध्या 26 Nov 2019  का दिन अखिल नेपाल फुटबल संघको आयोजनामा सातदोबाटो स्थित खेलकुद परिसरमा सरसफाई कार्यक्रम आयोजना गरियो । नेपालले आयोजना गर्ने महत्वपूर्ण प्रतियोगिताको रुपमा रहेको दक्षिण एशियाली खेलकुदलाई भव्य रुपमा सम्पन्न गर्ने अभियान अन्तरगत एन्फाले सक्रिय रुपमा गरेका अन्य कार्यहरुको अलावा उक्त सरसफाई कार्यक्रमको पनि विशेष महत्व रहेको थियो ।

१०. सामाजिक उत्तरदायित्व अन्र्तगत स्वच्छ वातावरण निर्माणमा सहयोगी हुन सक्ने, समाजलाई सकारात्मक प्रभाव पार्न सक्ने काम गर्नुपर्छ भन्ने मान्यता बोकीरहेको यस समितिले सोही स्थानलाई अझ सुन्दर र प्रमावकारी बनाउनका लागि बगैंचा (उद्यान) निर्माण गर्ने प्रस्तावलाई स्वीकृति प्राप्त भएपश्चात निर्माण कार्य सुरु गरियो ।


फुटबलसँगको सम्बन्धलाई प्रत्याभुत गर्नेगरी बनाइएको फुटबल स्तम्भ, दुबो र माटोको फुटबल, खोलाको गोलो ढुङ्गाहरुलाई सेतो र कालो रङ्ग लगाएर तयार गरिएको पुरातन फुटबल, फोहोरा सहितको पानी रहने अर्धगोलाकार कंक्रिटले बनेको फुटबल आकारको आकर्षक पोखरी बनाईएको छ ।

त्यस्तै अखिल नेपाल फुटबल संघलाई मान्यता दिने तथा सहयोग गर्ने नेपाल सरकार, फिफा (FIFA), एएफसि(AFC) को ३० इन्च अग्लो र लगभग १० फिट लम्बाई भएको रंगिन बत्ति जडान गरिएको स्टिलका अक्षरहरुको Symbol राखिएकोछ । नेपालमा नबन्ने (जस्तै बत्ति र पानी तान्ने मेशिन) बाहेक आफ्नो मौलिकता झल्कने भक्तपुरको दचि इटा, सिन्धुपाल्चोकको सिलेट ढुंङ्गा लगायतका सामाग्रीहरुको गरेर प्रयोग गरेर निर्माण गरिएको यसलाई “एन्फा बाटिका” नामाकरण गरियो ।

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको दौरान 26 November, 2019 मा यसको समुद्घाटन गरियो । सोही समयमा विभिन्न प्रतियोगिताहरु सन्चालन भैरहेका कारण संचार माध्यममा कम महत्व पाएतापनि सामाजिक दायित्व, वातावरणीय दृष्टि र परिवर्तन पछाडीको एउटा सकारात्मक प्रयासको रुपमा सबैले मनन् गर्नेछन भन्ने विश्वास लिएका छौं ।

पहिले

अहिले

११. नेपाली फुटबलमा हाम्रो बोल : महिला हिंसा बिरुद्घको बोल को नारा बोकेर महिलामा हुने जस्तोसुकै बिभेदको बिपक्षमा रहने अखिल नेपाल फुटबल संघले महिला कै हक हितमा कार्यहरु गर्दै आएको माइती नेपालसंग MOU गरेको छ । सो अन्तरगत माइती नेपालको संरक्षण र रेखदेखमा रहेका महिलाहरुलाई फुटबल खेल मार्फत हौसला अभिबृद्घि गर्न र समाजमा अरु महिला सरह आत्मविश्वासी बनाउनका लागि अखिल नेपाल फुटबल संघले आवश्यक खेल सामाग्री र प्राविधिक सहयोग गर्ने सम्झौता भएको छ ।

१२. Asian Football Confederation (AFC) ले सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ को भुकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको स्याउलेमा निर्माण कार्य बाँकी रहेको श्री सेतिदेवि मा.वि. को अनुगमन गरी आवश्यक निर्देशन दिंदै सोही विद्यालयका विद्यार्थी आबद्ध स्थानीय क्लब र स्थानीय निकायलाई खेलकुद सामाग्री हरुतान्तरण गरियो ।

१३. फुटबल खेलको माध्यमबाट कैलालीको मुक्तकमैया बस्तीका बालिकाहरुमा आत्मविश्वास जगाउन र उनीहरुको अनुहारमा खुसी ल्याउन सकिन्छ सोचका साथ कैलाली जिल्ला फुटबल संघको समन्वयमा रारा फाउण्डेसनले आयोजना गरेको दुईदिने Girls Football Festival मा अखिल नेपाल फुटबल संघबाट खेल सामाग्रीहरु सहयोग गरियो ।

नेपालको दुरदराजका पिछडिएका वर्ग वा समुदायमा रहेका बालबालिकाहरुको लागी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बनाउने योजनाहरुको सम्भाब्यता अध्ययन गरिरहेको सन्दर्भमा यो कार्यक्रमको आयोजनाले बालिकाहरुमा सकारात्मक प्रभाव परेको छ ।

(भण्डारी अखिल नेपाल फुटबल संघ (एन्फा)को सामाजिक उत्तरदायित्व समितिका संयोजक हुन् ।)