दर्शकविना नै खेल्ने वातावरण बनाइदिनुस् : अध्यक्ष शेर्पा

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बन्द रंगशालामा खेल खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई यस्तो अपिल गरेका हुन् ।

एन्फाले गरेको टेक्निकल रिपोर्ट सार्वजनिक कार्यक्रममा अध्यक्ष शेर्पाले युरोपियन देशहरूमा जस्तै नेपालमा पनि खेलमा सहजीकरण गरिदिन आग्रह गरे । उनले भने –“धेरै देशहरूमा विनादर्शक लिग सुरु भएका छन् । सकिन्छ भने हामीलाई पनि त्यो अवस्था सिर्जना गरिदिनुस्,”

अध्यक्ष शेर्पाका अनुसार बी डिभिजन लिग, त्यस्तै सी डिभिजन, महिला लिग तथा राष्ट्रिय लिगलगायतमा मुख्य कार्य सम्पन्न भयो भने अर्को वर्ष थप कार्य गर्न सहज हुनेछ ।

खेलाडी र प्रशिक्षकका लागि नयाँ कार्यक्रम

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले खेलाडी र प्रशिक्षकका लागि नयाँ कार्यक्रम ल्याएको जानकारी दिए । खेलाडीको स्तरोन्नतिका लागि आइटी र अनलाइन सिष्टमको तयारी गरेको उनको भनाइ छ ।

दशरथ रंगशालालाई क्वारेन्टिनस्थल नबनाइदिन आग्रह

कार्यक्रममा अध्यक्ष शेर्पाले कोरोना भाइरसको महामारीमा दशरथ रंगशालालाई क्‍वारेन्टाइनका लागि प्रयोग नगरिदिन पनि आग्रह गरेका थिए । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण खतरा न्युनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलसँगै शेर्पाले यस्तो आग्रह गरेका हुन् ।

उनले भने–‘हामीले रंगशालाको मैदानलाई लकडाउनमा पनि मर्मत सम्भार गरिरहेका छौं । अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि सदस्यसचिवले प्रयास गर्ने विश्वास गरेका छौं,’

यस्तै अध्यक्ष शेर्पाले मैदानको सट्टा क्वारेन्टिनको लागि स्कुल कलेजलाई प्रयोग गर्न सुझाए । यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडिमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको उनको भनाइ थियो ।