कक्षा ११ को पनि परीक्षा नहुने, आन्तरिक मुल्याङकनबाट गरिने

काठमाडौँ – कोरोना भाइरसका कारण स्थगित गरिएको कक्षा ११ को अन्तिम परीक्षा यसवर्ष नहुने भएको छ। ११ कक्षाको परीक्षामा पनि एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो। आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले खुल्लापाटीलाई जानकारी दिए।

उनका अनुसार आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो।

तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो। कक्षा १२ को भने अनुकुल समयमा परीक्षा लिइने उनले जानकारी दिए ।