किन फिर्ता लिए प्याब्सन, एनप्याब्सनले आन्दोलनका कार्यक्रम ?

काठमाडौँ –निजी विद्यालयका छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) ले सोमबारदेखि गर्ने भनेको आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

असार २२ गते देखि अनलाईन कक्षा बन्द गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका निजी विद्यालय संगठनले आज शिक्षा मन्त्रालयसँग वार्ता लगत्तै तत्कालका लागि घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । वार्ता तथा संवाद सकारात्मक रहेको र वार्ता जारी रहेकाले मन्त्रालयको आग्रहमा निजी विद्यालयले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

पटक पटकको वार्ता भएपनि निकास ननिष्किएपछि २२ असारबाट अनलाइन, अफलाइन, वैकल्पिक शिक्षण लगायतका सम्पूर्ण गतिविधि ठप्प पारी आन्दोलनमा होमिने निर्णय गरेका प्याब्सन, एनप्याब्सनलाई आज मन्त्रालयले वार्तामा डाकेको थियो ।

आजको वार्तामा शिक्षा मन्त्री सहित निजी विद्यालय संगठन प्याब्सन र एन प्याब्सन, शिक्षक महासंघ, अभिभावक संघ संगठन, इस्टु तथा मन्त्रालयका पदाधिकारी सहभागी थिए । वार्तामा निजी प्याब्सन, एनप्याब्सनलाई मन्त्रालयले केही दिन आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो ।

बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकार निजी विद्यालयको समस्या समाधानमा गम्भीर रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । मन्त्रालयसँगको वार्ता लगत्तै प्याब्सन, एनप्याब्सनले आन्दोलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति :