काठमाडौँ उपत्यकामा ४३१ सहित देशभर १ हजार २०१ जनामा संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा ४३१ सहित देशभर १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घन्टामा १० हजार १ सय ७६ पीसीआर नमूना परीक्षण गर्दा ७ सय ८५ पुरुष र ४ सय १६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ । मोरङमा ५८, सर्लाहीमा ८३, मकबानपुरमा १ सय ७, चितवनमा ९२, नवलपरासी पूर्वमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलबस्तुमा २२, दाङमा २४, रुपन्देहीमा ८१ र सुर्खेतमा १८ जना संक्रमित थपिएका छन ।

अहिले देशभर सक्रिय संक्रमित १५ हजार २ सय ६० जना छन । सक्रमितमध्ये ६ हजार १ सय ५३ घरमै छन् भने बाँकी ९ हजार १ सय ७ जना संस्थागत आइसोलेशनमा रहेका छन । संक्रमितहरूमध्ये १ सय ६० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचार भैरहेको छ । ६ हजार ३ सय ५४ जना क्वारन्टीनमा जना रहेका छन ।

अहिलेसम्म कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि आठ लाख ३१ हजार ३ सय ६२ पीसीआर नमूना परीक्षण भएको छ । त्यस्तै ८ सय ५२ जना संक्रमण मुक्त भएका छन् ।

काठमाडौँमा थपिए ४३१ संक्रमित

काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना नयाँ संक्रमित थपिएका हुन् ।

थप १४ जनाको मृत्यु

यस्तै नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मृत्यु पुष्टि हुनेमा सुनसरीका ४३ वर्षिय पुरुष, पर्साकी ७८ वर्षिया महिला, काठमाडौँकी ४६ वर्षिया महिला, ५१ र ५२ वर्षिय २ पुरुष, भक्तपुरका ७२ र ३८ वर्षिय २ पुरुष, चितवनका ६१ वर्षिय पुरुष, तनहुँकी ७६ वर्षिया महिला, स्यांग्जाका ८५ वर्षिय पुरुष, गोरखाका ४५ वर्षिय पुरुष, कास्कीका ५१ वर्षिय पुरुष, रुपन्देहीका ६० र ४० वर्षिय २ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।