टिचिङ अस्पतालमा कोरोना : फ्रन्टलाइनमा खटिरहेका डाक्टर के भन्छन्

डा. नीरज बम
वरिष्ठ छातीरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

कोरोना केश अस्पताल आउन सक्छ भन्नेमा हामी सुरुवातबाटै तम्तयार थियौँ । सरकारले सहयोग गरेकै थियो । केही दिन अघि टिचिङमैँ बालिकामा देखियो । ती बालिकालाई भेटन आएका अर्का व्यक्तिलाई पनि देखिएको थियो । विहीबार निधन भएकी महिला केही दिन अघि शिक्षण अस्पतालमा सुत्केरी हुनुभएको पाइएको छ ।

उहाँबारे अनुसन्धान गरिहेका छौँ कहाँबाट चाहिँ सर्यो भनेर । मेरो व्यक्तिगत अनुमान भन्नुहुन्छ भने नशामा रगत जमेर पनि मृत्यु भएको हुनसक्छ जुन धेरै सुत्केरी महिलाहरुमा देखिन्छ र यो कोरोनासँग मिल्ने लक्षण हो । प्रसुति वार्डका स्वास्थ्यकर्मीदेखि सबैको स्वाब परीक्षण गरिरहेको छ । त्यसपछि अस्पतालमा विभिन्न परिस्थिति जुन देखा परेको छ । हामी मिटिङ बसेर छलफल गर्ने गरेका छौँ ।

शुक्रबारबाटै हाम्रोमा विरामीको चाप निकै न्युन बनेको छ । भर्ना भएका निस्केर जान चाहेका छन् । कुरुवा त्रसित बनेका छन् । हाम्रोमा स्वास्थ्यकर्मी पनि त्रसित बनेका छन् । मेरो त विभाग नै त्यही हो । मसहित टिम नै फ्रन्टलाइनमा रहेर काम गरिरहेका छौँ । कोरोना आशंकित आशंकित अन्य केही भर्ना भइरहेका छन् । उपचार गरिरहेका छौँ ।

म के निवेदन गर्न चाहन्छु भने मनोवैज्ञानिक त्रास हटाऔँ । घरमा रहौँ । अहिलेसम्मको उपचार भनेकै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भीडभाडमा जाँदै नजाने लगायत हो ।  तर जो विरामी छन् चिकित्सकसँग समन्वय गर्नैपर्छ । त्यसका लागि पनि अहिले सकिन्छ भने अहिले सामाजिक सञ्जाल वा टेलिफोन जुनकुनै माध्यमबाट चिकित्सकसँग समन्वय गरौँ न । रह्यो कुरा कोरोनाको, म के भन्छु भने कोरोना लाग्दैमा मृत्यु हुने पनि होइन । त्यही भएर नआँत्तिऔँ भनेको हो । आफू सजग त हुनुपर्छ नि ।

लक्षण नदेखिनु झन खतरा

कुनै पनि रोगको लक्षण देखिन्छ उपचारका लागि अस्पताल गइन्छ । सम्बन्धित चिकित्सकसँग उपचारपछि निको हुन्छ तर यो त लक्षण नै नदेखिने हुन थाल्यो । यद्यपि यसबारे विभिन्न अनुसन्धानले दैनिक नयाँ नयाँ कुरा पत्ता लागेको छ । दीर्घरोगीहरु बढी रिस्कमा छन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकाको मृत्यु विश्वभर बढी भैरहेको छ । कतिपयको अकस्मात मृत्यु पनि लक्षण नदेखिएर सर्दै जाने हुन्छ । त्यसैले यो भयावह मानिएको हो । फेरि यसको यही नै उपचार गरौँ भन्ने केही नभएपछि थप जटिलता देखिएको हो । नत्र आज संसार नै यस्तो स्तब्ध बनेर बस्दैनथ्यो नि । चिकित्साविज्ञान नै मुकदर्शक बन्नुपर्यो ।

ठाउँअनुसार किन फरक छ भाइरस

यसमा विभिन्न अनुमान मात्रै आइरहेका छन् प्रमाणित भैसकेको छैन । चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्छ । हङकङ, अमेरीका, भारत, नेपालमा फैलिएको भाइरस सशक्त, कमजोर भन्ने टिप्पणी सुनेको छु । अहिले प्रमाणित नभएकाले ती सबै अनुमान नै हुन् । भारतमा कमजोर भनौँ भने पनि भारतमा केही दिन अघिसम्म १ दशमलव ५ प्रतिशत रहेको मृत्युदर बढेर ३ प्रतिशत पुगेको छ ।

त्यसले गर्दा समुदायमा कस्ता मानिस बसेका छन् कसरी संक्रमण फैलिएको छ त्यसले यस्ता कुरा निर्धारण गर्छ । यी सबै कुरामा अनुसन्धान भैरहेको छ । कतिपयले नेपालमा २० देखि ५० वर्षका मानिसहरु बढी संक्रमित भनेका छन् तर मेरो विचारमा ती उमेर समुहका मानिस बढी हिडडुल गर्ने भएकाले हो । अन्य कुरामा वैज्ञानिक आधार छैन ।

सर्छ कसरी

विरामीको हाच्छ्यु, र्याल, सिंगान, थुकले सार्ने हो । भाइरस विरामीले छोएका सामानबाट सर्ने पनि देखिएकाले हात धोऔँ, स्यानिटाइजर प्रयोग गरौँ । पहिले पहिले १ मिटर भित्र सर्छ भनिएकोमा अहिले २ मिटर भन्ने आएको छ । तर मुख्य कुरा हात धुने, सामाजिक दुरी कायम गर्ने हो ।

क्वारेन्टिन १४ दिन

क्वारेन्टिन १४ दिन पहिले विश्वस्वास्थ्य संगठनले भनेका आधारमा गरिएको हो । तर अब जति दिन बढछ यति नै दिन भन्ने फिक्स छैन । हामीले थाहा पायौँ नि ४९ दिनमा पनि देखिएको । अझ लक्षण पनि देखिन्न । त्यसैले यति नै भन्ने भएन अब । तर पनि कम्तीमा २ देखि ३ हप्ताचाहि बस्नैपर्छ भनेको हो ।

त्यसैले मेरो के अनुरोध छ भने कोरोनासँग चिकित्सा विज्ञान अझै पनि हरदिन जुधिरहेछ । फेरि पनि भन्छु मास्क लगाएर सामाजिक दुरी कायम गरौँ । खोक्ने, ज्वरो आउनेसँग सजग बनौँ ।

शिक्षण अस्पतालको सह–प्राध्यापकसमेत रहेका पल्मोनोलोजी तथा क्रिटिकल केयर युनिटका डा. निरज बमसँग खुल्लापाटी डट कमले गरेको खुल्ला बहसमा डा. बमले व्यक्त गर्नुभएको विचारको संक्षिप्त अंश ।  डा. बमसँगको कुराकानी यहाँहरुले भिडियोमा पनि हेर्न सक्नुहुनेछ । भिडियो हेर्न यहाँहरुले खुल्लापाटी डट कमको फेसबुक पेज लाइक गरी भिडियो हेर्न सक्नुहुनेछ । खुल्लापाटी डट कमको खुल्ला बहस हरेक दिन आउने गर्छ । कार्यक्रममा सहभागिता र विषयगत एजेण्डा राख्न मन भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गतटिचिङ अस्पतालमा काेराेना भ्रम र यथार्थ टिचिङका डा.निरज बम ।

Gepostet von Khullapati am Sonntag, 17. Mai 2020