कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा औपचारिक रुपमा सार्वजनिक

काठमाडौँ – सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आज आयोजित एक कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुभयो ।

जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । कार्यक्रममा मन्त्री अर्यालले राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको बताउनुभयो ।

सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् ।