निजी विद्यालयमा छोराछोरी पढाएको भन्दै सरकारी विद्यालयका शिक्षकमाथि कारबाही

काठमाडौँ – दैलेखको गुराँस गाउँपालिकाले सरकारी शिक्षकले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएको भन्दै सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरेको छ । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयकाका तीन जना शिक्षकलाई गाउँपालिकाले कारबाही गरेको हो ।

ती शिक्षकलाई जनही १० हजार जरिवाना गराइएको छ । विद्यालयमा कार्यरत शिक्षक पदमबहादुर नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्दले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै रु १० हजार जरिवानास्वरुप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।

गाउँपालिकाले विसं २०७५ चैत २५ गते निर्णय गर्दै गाउँपालिकाभित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।

सो निर्णयमा गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने र त्यसो गरेको पाइएमा १० हजार जरिवाना गरिने उल्लेख छ । उक्त निर्णयको पालना नगरेको भन्दै निर्णयअनुसार उनीहरुलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही रु १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिए ।