एन्फा विवादबारे पत्रकारको आलोचना, अध्यक्ष शेर्पाको जवाफ (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत मंगलबार खेलकुद क्षेत्रबारे बहस भयो । बहसमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र खेल पत्रकार प्रकाश तिमिल्सिना सहभागी भए ।

पछिल्ला दिनमा फेरि विवादमा अल्झिएको एन्फामा यतिबेला कारबाही, काण्ड लगायतका शब्दले चर्चित बनेको परिस्थितिमा हामीले शेर्पा र तिमिल्सिनालाई विवादको चुरोबारे जानकारी मागेका थियौँ ।

पत्रकार तिमिल्सिनाले एन्फा विवादको चुरोमा रुमल्लिएको बताए । पछिल्लो २ वर्षको स्थिति हेर्दा भने कार्यसमितिलाई असफल बनाउन, अध्यक्षलाई समस्यामा पार्न लागेको जानकारी दिए ।

उनले भने–‘ अघिल्ला अध्यक्षजस्तो आर्थिक अनियमिततामा उहाँ (कर्माछिरिङ शेर्पा ) नमुछिए  पनि सरकारले प्रभावकारी काम नगर्दा प्रधानमन्त्रीलाई दोष लागेजस्तै उहाँमाथि विभिन्न दोष लगाइएको छ । संस्थाको मर्यादा, गोपनीयता बिर्सेर व्यक्तिहरु हावी हुन थालेका छन्। सामाजिक सञ्जालमा निर्णय, बैठकको एजेण्डा, व्यक्तिगत म्यासेज बाहिरिन थालेका छन् ।’

यसबारे जवाफ दिँदै अध्यक्ष शेर्पाले भने –‘ पञ्चायतको शासन सकिएपछि बहुदल आएको बेला डेमोक्रेशीलाई अराजकताको रुपमा लिन थालियो तर डेमोक्रेशी नियममा बस्ने हो । हिजो पञ्चायतमा रहेकाले बहुदल आएजस्तै गरे । सामाजिक सञ्जालयमा लेख्ने, अराजकता मच्चाउनेल आफैँ नांगिँदै गएका छन् ।’ अध्यक्ष शेर्पाले निर्वाचनको घोषणापत्रका लेखिएका कुरा कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताए । उनले भने –‘अझै दुई वर्ष बाँकी छ । चुनावमा व्यक्त गरेका प्रतिबद्धताबाट हामी पछि हट्दैनौँ, हट्ने छैनौँ ।’

अध्यक्ष शेर्पाले नीति तथा कार्यक्रम पुरानै निरन्तरता भएको टिप्पणी गरे यद्यपि पर्वतीय खेलकुदका कार्यक्रम लगायत ठीक रहेको उनको भनाइ छ । पत्रकार तिमिल्सिनाले पनि उच्च पर्वतीय खेलकुद कार्यक्रम निरन्तरता दिनाले आर्थिक उपार्जजनका लागि सहज हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष शेर्पाले जर्मनीमा बुंण्डेश लिगा लगायतका कार्यक्रम सुरु भएको परिस्थितिमा हाम्रोमा पनि अब नीति बनाएर अघि बढ्नुपर्ने बताए । जर्मनी, बेलायत, कतार, कोरियामा खेलका कार्य सुरु हुन लागेको परिस्थितिमा हाम्रोमा पनि सरकारले नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने–‘शारिरीक अभ्यास गरिराख्न खेलाडीहरुलाई निर्देशन दिएका छौँ । अनलाइनमार्फत नियमित प्रशिक्षण, छलफल र समन्वय गरिरहेका छौँ । ’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।