काठमाडौँमा ३ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४०२ पुगे

काठमाडौँ- काठमाडौँमा ३ जना सहित थप २७ जनामा कोरोनाको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र ३ महिला छन्।

योसँगै नेपालमा अब कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।  दैलेखका एक जनामा कोरोना देखिएसँगै सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । सोमबार राति कर्णाली प्रदेशको दैलेखका एक जनामा कोरोना पुष्टि भएपछि सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको पाइएको हो ।

सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो।प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् ।

प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

मन्त्रालयका अनुसार हालसम्म २० हजार ९० जना क्वारेन्टाईनमा छन् । पीसीआर विधिबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ ।