लकडाउन थप लम्ब्याउने तयारी , मन्त्रिपरिषद् बैठकले आज निर्णय गर्ने

काठमाडौँ – कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि यसबारे निर्णय गर्न आज ११ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

लकडाउन थप्ने वा खुकुलो बनाउने बिषय आजको मन्त्रिपरिषदको बैठकले टुंगो लगाउनेछ । सरकारले गत चैत्र ११ गतेदेखि देशभर लागु गरेको लकडाउन भोलि विहीबार सकिँदैछ । यसअघि हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिन सुझाव दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएको थियो । मंगलबार साँझ उच्चस्तरीय समितिका सदस्य सचिव एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि बढाउनेबारे निर्णय लिने जानकारी दिएका दिए ।

४५ दिनदेखि लकडाउन गरेर कोरोना संक्रमण न्युनीकरणको प्रयास गर्दा पनि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।