कक्षा १२सहित सबै परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित रुटिन प्रकाशन गरिएका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी दिए ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन- कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमा लेखेका छन् ।

३१ साउनदेखि ९ भदौसम्म राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । स्नातक तह र स्नतकोत्तर तहका परीक्षाहरू सञ्चालन भइरहेका छन् ।