विषय एक, बिज्ञप्ती दुई- तिङ्ला काण्ड

अनुज खड्का
माघ ०६, सोलुखुम्बु

सोलुखुम्बुको तिङ्लामा माघ ४ गते शनिबार घटेको घटनाको बारेमा दुई बिज्ञप्ती सार्बजनिक भएका छन । ने.क.पा सोलुखुम्बु र आन्दोलनरत तिङ्लाली जनताको तर्फबाट ती बिज्ञप्ती सार्बजनिक भएका हुन । तर बिज्ञप्तीमा उल्लेखित कुराहरु भने एकअर्कासङ्ग बाझिएका छन । आन्दोलनरत तिङ्लाली जनताको तर्फबाट प्रकाशित बिज्ञप्तीमा भनिएको छ “शनिबारको मुठभेडमा आन्दोलनरत तिङ्लालीकै मात्र सहभागिता थियो र उक्त मुठभेड कुनैपनि ब्यक्ती वा निकायबाट प्रायोजित थिएन ।” तर नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुको बिज्ञप्तीमा भने तिङ्लाली जनताको नाममा बिकास बिरोधी केही तत्वहरुले घुसपैठ गरेको निश्कर्ष निकालिएको छ । शनिबार भएको मुठभेडमा १४ मोटरसाइकल पुर्णरुपमा जलेर खरानी भएको थियो भने २ मोटरसाइकल भने पुर्ण क्षतिमा परेको थियो । साथै एउटा बुलेर गाडी पनि खरानी भएको थियो । आन्दोलनमा मादकपदार्थ सेवन गरेका मानिसहरुलाई प्रयोग गरेको, नाबालकहरुलाई ढुङ्गा हान्न उक्साईएको र घटना पुरै नियोजित भएको उल्लेख नेकपाको बिज्ञप्तीमा जनाईएको छ भने आन्दोलनरत पक्षले यसको सिधै खण्डन गरेको छ । दुबै पक्षले घटनाको मुल जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताएका छन । आक्रोशित भिडलाई मध्यनजर गर्दै सम्भाबित घटना रोक्न प्रहरीले चाहेको भए सक्ने दुवै पक्षको दावी रहेको छ । तर सुरक्षा निकाय यस बिषयमा चुकेको वा लाचार देखिएको दुवै पक्षको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

तिङ्ला आन्दोलनले करोडौको क्षति निम्त्याएको भएपनी यसको जिम्मेवारी कसले लिने भन्ने बिषय भने अन्योल रहेको छ । शनिबार उद्घाटन गर्ने भनिएको राष्ट्रिय प्रसारण लाईनको उद्घाटन कार्यक्रम बिफल भएपछि संघिय सांसद हेमकुमार राई सुरबिरले तिङ्लालीलाई भ्रममा पारेर आन्दोलन भड्काउने काम बिकासबिरोधी केही तत्वहरुले गरेको बताउनु भएको छ । यस बिषयमा आफूले आन्दोलनरत तिङ्लालीसङ्ग बार्ता गर्ने र स्पष्ट पार्ने कोसिस गर्दागर्दै पनि घटना घट्न पुगेको उहाँले जिकिर गर्नुभएको छ । साथसाथै तिङ्लालीको माग प्रती आफू सुरुमै सचेत रहेको र तिङ्लालीको हकहितका निम्ति कुनै कसर बाकी नराख्ने संघिय सांसद राईले बताउनुभयो ।

नेपाल बिधुत प्राधिकरणको शाखा कार्यालय सल्लेरीमा ल्याएर यथाशिघ्र ग्रामिण बिधुत बिस्तारमा पहल गरिरहेको नेकपा सरकारलाई जनतामा बद्नाम गराउने र भ्रम फैलाउने काम जोसुकैबाट भएको भएपनी छनबिन हुने नेकपा सोलुखुम्बुले जनाएको छ । साथै शनिबारको घटना दु:खद भएको भन्दै नेकपा सोलुखुम्बुले यसको सुरक्षित अबतरणमा सबैले आ-आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।