प्याब्सन पाल्पाबाट राहत कोषमा सहयोग

पाल्पा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सनं) पाल्पा शाखाले पाल्पाका स्थानीय तहका राहत कोषमा रकम सहयोग गरेको छ । प्याब्सनले सदस्य विद्यालयहरूबाट सहयोग स्वरूप उठाएको राहत रकम जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकालाई प्रदान गरेको हो ।

नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले स्थापना गरेका राहत कोषमा जिल्लाका सात वटा स्थानीय तहमा राहत रकम सहयोग गरेको प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेले जानकारी दिनुभयो ।

प्याब्सनले तानसेन नगरपालिकाकाले स्थापना गरेको कोरोना राहत कोषमा ५० हजार, रामपुर नगरपालिकाको राहत कोषमा ३० हजार सहयोग गरेको जनाएको छ । त्यस्तै बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाहरुले स्थापना गरेका राहत कोषमा २०/२० हजारका दरले रकम हस्तान्तरण गरेको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभयो ।

केन्द्रीय प्याब्सन मार्फत पाल्पा प्याब्सनले १ लाख ५० हजार रुपैयाँ केन्द्रिय राहत कोषमा सहयोग गर्ने जनाएको छ।