स्थगित परीक्षा सञ्चालनबारे छलफल, लकडाउन खुलेको १५ दिन पछि गर्ने तयारी

-हरि न्यौपाने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन खुलेको कम्तीमा १५ दिनपछि एसइई, ११ र १२ कक्षाको परीक्षा गर्ने तयारी गरेको छ। कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति र स्थगित परीक्षा लगायतबारे बोर्डले आज निजी तथा सामुदयिक विद्यालयका प्रतिनिधिसँग छलफल पनि गरेको थियो।

छलफलमा सहभागीले लकडाउन सकिएको कम्तीमा १५ देखि १ महिना तयारीका लागि विद्यार्थीलाई समय दिनुपर्ने धारणा राखेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय महासचिव कुमार घिमिरेले खुल्लापाटीलाई जानकारी दिए ।

‘कम्तीमा १५ दिन तयारीका लागि विद्यार्थीलाई समय दिनुपर्छ भन्ने भयो । अर्को, डेरामा बसेर परीक्षा दिन लगाउने गरी वातावरण तयार गर्नुहुन्न भन्नेमा सहभागी सबै एकमत भयौँ । डेरा बस्दा मानसिक तयार भय विद्यार्थीलाई हुनुहुन्न भन्ने हो । ’ बैठकमा बोर्ड पदाधिकारीले सरोकारवाला सबै पक्षसँग लकडाउन लामो गए अनलाइन लिने कि, होम सेन्टर गराउने वा परीक्षा लिएर रिजल्ट यथाशक्य गराउनेबारे जानकारी लिएको थियो ।

बोर्डका अधिकारीले जेठभरीमा परीक्षा सके शैक्षिक कार्यतालिकामा कुनै असर नगर्ने जनाएका थिए । लकडाउन लामो समय गए अनलाइनबाट सम्भव नहुने भएकाले होम सेन्टरमा आन्तरिक मुल्याङकन गरी अघि बढ्नेबारे आफूहरुले धारणा राखेको घिमिरेले खुल्लापाटीलाई बताए ।

बोर्डले छलफलबाट आएका निष्कर्ष मन्त्रालयमा पेश गरेपछि मन्त्रिपरिषद्ले निर्णय लिनेछ । यसबारे आगामी दिनको अवस्था हेरेर निर्णय लिने गरी बैठक टुंगिएको थियो ।