माथागढी गाउँपालिकाको राहत कोषमा प्याब्सन पाल्पाको सहयोग

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले कोभिड –१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेको कोरोना राहत कोषमा निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) पाल्पाले  बुधबार बीस हजार रुपैयाँ सहयोग गरेको छ ।

जिल्ला सह–सचिव तथा माथागढी गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई, सदस्य पूर्णबहादुर थापाले गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकिय अधिकृत राजु नेपाललाई गाउँपालिकाको राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरे ।

आफ्ना सदस्य विद्यालयहरूबाट सहयोग स्वरूप उठाएको राहत रकम विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि स्थानीय तहहरुले स्थापना गरेका राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको सह–सचिव भट्टराईले बताए ।

चेक ग्रहण गर्दै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले विपद्को बेला प्याब्सनले देखाएको सहयोग र सद्भावको प्रसंसा गर्दै धन्यवाद दिईन । प्याब्सनले यो सँगै जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकाको राहत कोषमा सहयोग गरिसकेको छ ।

तानसेन नगरपालिकाका, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिकाहरुले स्थापना गरेका राहत कोषमा रकम जम्मा गरेको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिए ।