हठात् किन मिले समाजवादी र राजपा

काठमाडौँ – सरकारले राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधनपछि पछिल्लो समय राजनीतिक सरगर्मी तातिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुको बैठक डाके लगत्तै राजनीतिक दल र नेताहरु कोरोना संक्रमणको लकडाउनबीच तातिएका छन् ।

लामो समयदेखि एकताको कसरतमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर गठित पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टीको वरियता क्रममा महन्थ ठाकुर एक नम्बरमा छन् । सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

एकीकृत नयाँ पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र निर्वाचन चिन्ह राजपाले प्रयोग गर्दै आएको हुने सहमति भएको छ । पार्टी एकीकरण समानताको आधारमा हुने उल्लेख गरिएको छ ।