सिद्धार्थ विद्यापीठमा अनलाइन कक्षा नृत्य सिकाउनेदेखि गृहकार्य गराउनेसम्म

भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठले अनलाइन कक्षा सुरु गरेको जनाएको छ । प्ले ग्रुपदेखि १० कक्षासम्मका विद्यार्थीलाई अनलाइनमार्फत शिक्षण सुरु गरिएको विद्यापीठकी संस्थापक प्राचार्य दीपीका थापा रिमालले खुल्लापाटीलाई जानकारी दिइन् ।

अनलाइन कक्षामा अभिभावक र सम्बन्धित शिक्षक शिक्षिका समेटेर वर्कसिट दिने, टिचरहरुले भिडियोमार्फत विषयगत नयाँ नयाँ जानकारी दिने गरेको रिमालले बताइन ।

‘हामीले अनलाइनमा कक्षा सुरु गरेका छौँ । शिक्षक शिक्षिकाले अनलाइनमैँ मिले नमिलेको जानकारी गराउने गर्नुहुन्छ ।’ विद्यालयले अनलाइन कक्षा सुरु गरेपछि अभिभावकलाई पनि राहत मिलेको उनले बताइन् । तर सबै अभिभावक समेटन भने नसकेको उनको भनाइ छ । ‘अहिले सबै अभिभावक समेटन सकेनौँ । कतिपय गाउँ जानुभएको छ । गाउँमा नेटको सुविधा छैन । उहाँहरु छुट्ने समस्या भयो ।’

अनलाइन कक्षामा गुगल जुममार्फत शिक्षण सिकाइ गरिएको उनले बताइन् । साथै इन्टरनेटबाट विभिन्न जानकारी र विद्यार्थीको तह अनुसारका खोजमुलक जानकारीहरु सम्बन्धित शिक्षक शिक्षिकाले जानकारी गराउने गरेको उनको भनाइ छ ।

‘ हामीले यस्तो कार्य गर्दा विद्यार्थीहरु पनि घरमा थप सिर्जनात्मक र रचनात्मक बनिदिँदा रहेछन् । विकसित देशले अंगीकार गरेको प्रविधिमैत्री शिक्षण सिकाइ हामीले सबैतिर अंगाल्न पायौँ ।’ उनले बताइन् ।