सगरमाथा आखैमा झलल, गाडीबाटै पत्ताले सरर

नयाँ नयाँ क्षेत्रमा घुमफिर गर्न चाहाने  आन्तरिक पर्यटकका लागि पत्ताले डाँडा एउटा सुन्दर विकल्प हो ।


सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दुरीमा रहेको सुन्दर पर्यटकी क्षेत्र हो । यसको उचाई करिब करिब ३१०० मिटर छ ।


मनोरम हिमालका दृष्याअवलोकन गर्नको लागि यो उपयुक्त डाँडा हो । याहाँबाट सगरमाथा, मकालु, कन्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायतका  सुन्दर हिमालको दृष्याअवलोकन गर्न सकिन्छ ।


राजधानी काठमाडौंबाट छोटो दुरीमा रहेको यो क्षेत्रमा  हवाई र सडक मार्गबाट पुग्न सकिन्छ । सडक मार्गबाट त्यहाँ पुग्न विपी राजमार्ग प्रयोग गर्नुपर्छ ।

काभ्रेको धुलीखेल, सिन्धुलीको खुर्कोट, जयरामघाट(उदयपुर सिमाना  र खोटाङको सिमाना), ओखलढुंगा बजार हुँदै करिब १५० किमि सडक पार गरेपछि पत्ताले गाँऊ पुगिन्छ ।


पत्ताले गाँउबाट करिब ४० मिनेट उकालो हिडेपछि पत्ताले डाँडा पुगिन्छ । पहिलो दिन खोटाङमा रहेको हलेसी महादेवको दर्शन गरि पत्ताले डाँडा पनि जान सकिन्छ ।


हवाईमार्गबाट पनि पत्तालेडाँडा पुग्न सकिन्छ । काठमाडौंबाट प्लेन चढेर करिब ३० मिनेटमा फाप्लु विमानस्थल(सोलुखुम्बु) पुगिन्छ । फाप्लुबाट करिब एक घण्टा १५ मिनेट  सडक यात्रा गरेपछि  पत्ताले गाँउ पुगिन्छ ।


पत्ताले गाँउमा शेर्पा, मगर, लगायतका जातीको बाख्लो बासस्थान रहेको छ । यहाँ शेर्पा लगायतको आफ्नै भाषा, संस्कृति छ । पत्ताले गाँउ नजिकै  चर्चित धार्मिक स्थल चाङगेथान पनि छ ।

आर्थिक हिसावले यो निकै सस्तो पर्यटकीय गन्तव्य पनि हो । यसकोे लागि दुई दिन एक रात समय छुट्याउँदा हुन्छ ।  करिब पाँच देखि छ हजारमा यो क्षेत्रमा घुमेर आउन सकिन्छ ।


पर्याप्त समय भएका पर्यटक जुनबेसी, पिकेडाँडा, थुप्तेन छोलिङ गुम्बा, चिवाङ गुम्बा, दुध कुण्ड लगाएका आर्कषक क्षेत्र पनि घुम्न सक्छन् ।