माछोमाछो भ्यागुतो- सोलु हाईड्रो, प्रभाबित झन बिचल्लित


प्रसारण लाइन निर्माण नहुँदा सोलुखुम्बुको सोलु हाइड्रोले उत्पादन गरेको विद्युत बिक्री गर्न पाएको छैन । सोलु करिडोर क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा २३.५ मेगावाटको सोलु हाइड्रोले विद्युत बिक्री गर्न नपाएको हो ।

सोलु करिडोरमा २३.५ मेघावाटको सोलु हाइड्रो पावरले गत कात्तिकमा निर्माण सम्पन्न गरेको थियो । तर आन्तरिक रूपमा परीक्षण सफल भएपनि विद्युत बिक्री गर्न नसकिएको आयोजनाका कार्यकारी निर्देशक शशिसागर राजभण्डारीले बताए । प्रसारण लाइन नभएका कारण बिक्री गर्न समस्या भएको उनले बताए ।

सोलु करिडोरमा साना ठूला गरी १० वटा हाइड्रो निर्माणाधीन अवस्थामा छन् । तर प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा ती हाइड्रोको काम पनि सुस्त गतिमा छ । चिलिमेको जस्तै मुनाफा हुने सम्झिएर स्थानीयबासीले सोलु हाइड्रोमा प्रमोटर सेयर लगानी गरेका छन् । तर परीक्षण उत्पादन भएपनि विद्युत बिक्रीमा अन्योल देखिएपछि निराश भएको स्थानीय राजकुमार प्रधान बताउँछन् ।

विस् २०६२–६३ सालमा उर्जा संकट घोषणा गरी सरकारले ‘सुपर ६’ परियोजनाअन्तर्गत सोलुमा दुई वटा आयोजना निर्माणका लागि अनुमति दिएको थियो । तर प्रशारण लाइन निर्माणमा भएको ढिलाईले ‘सुपर ६’ अन्तर्गत निर्माण भएको आयोजनाकै विद्युत खेर गएको स्थानीय राजकुमार प्रधानले बताए ।

ग्रामिण विद्युतीकरण नहुँदा आन्दोलन, १६ वटा मोटसाइकल जले

सालु करिडोरमा निर्माण भइरहेको विद्युत स्थानीय स्तरमा वितरण नगरी सिधै राष्ट्रिय प्रशारणमा जोड्न खोजेपछि स्थानीयबासी आन्दोलित भएका छन् । सोलु हाइड्रो र तल्लो सोलु हाइड्रोको अति प्रभावित क्षेत्रमा साल्मे गाउँ छ । तर ग्रामिण विद्यूतिकरण नहुँदा दुई आयोजनाको बीचमा रहेका स्थानीय अँध्यारोमा बसिरहेका छन् । साल्मे मात्र होइन आशपासका गाउँ पनि विद्युतविहीन छन् ।

हाइड्रो पावर निर्माण भएपनि विद्यत उपभोग गर्न नपाएका स्थानीयले गत शनिबार दूधकुण्ड गाउँपालिका–१ तिङलामा प्रदर्शन गरेका थिए । ग्रामिण विद्युतिकरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले १६ वटा मोटरसाइकल र एउटा बुलेरोमा आगजनी गरेका थिए । तिङलाका स्थानीबासीले राष्ट्रिय प्रसारणमा जोड्नुअघि आफूहरूले बिजुली पाउनुपर्ने माग गर्दै आएका छन् ।

सोलुमा ठूला आयोजना बनेपनि स्थानीयले विद्युत उपभोग गर्न नपाएको स्थानीय राजकुमार प्रधान बताउँछन् । ‘प्रसारण लाइन निर्माणमा ढिला हुँदा प्रधिकरणले ग्रामिण विद्युतीकरण गर्नुपर्थ्यो,’ उनी भन्छन्, ‘प्राधिकरणले ग्रामिण विद्युतीकरण नगर्दा स्थानीय आन्दोलित छन् ।’

प्रवक्ता भन्छन्– अप्रिलमा निर्माण सकिन्छ

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी १३२ केभी प्रसारण लाइन निर्माणको काम अप्रिल महिनाभित्र सक्ने बताएका छन् । प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले अप्रिल महिनाभित्र सक्ने लक्ष्य राखिएको बताए ।

प्रसारण लाइन निर्माण नभएसम्मका लागि निर्माण सम्पन्न भएको सोलू हाइड्रोको विद्युत ३३ केभी प्रसारणलाइनमा जोड्ने तयारी भएको उनले बताए । सोलु, ओखलढुंगा उदयपुर हुँदै ३३ केभी प्रसारणलाइन राष्ट्रिय प्रसारणलाइनको ग्रिडमा जोडिने छ ।

नेपाल सरकार र एक्जिम बैंक अफ इण्डियाको लागतमा मोहन इनर्जी लिमिटेड इण्डियाले निर्माण गरिरहेको सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटरको प्रसारण लाइनको काम तीव्र गतिमा भइरहेको अधिकारीले बताए ।