नेक्ससले सुरु ग-यो अनलाइन कक्षा

काठमाडौँ । कोरोना भाइरसको संक्रमण नभएको भए देशमा यही वैशाख पहिलो साताबाट शैक्षिक सत्र २०७७ सुरु भैसकेको हुने थियो । तर, कोरोनाभइरस संक्रमणको कारण सरकारले वैशाख १५ सम्म लकडाउन घोषणा गरिसकेकाले शैक्षिक सत्र २०७७ मा विद्यालय कहिले खुल्ने भन्ने निश्चित छैन । घर वा कोठामा थुनिएझैँ भएपछि बालबालिका मोबाइल, टिभीमा जतिखेरै व्यस्त हुन थालेका छन्, जुन अभिभावकका लागि पनि टाउको दुखाइको विषय बन्न पुगेको छ ।

तर राजधानीको नेक्सस इन्टरनेशनल एकेडेमीले अभिभावकका यस्ता समस्या समाधानार्थ अनलाइन कक्षा सुरु गरेको छ । नेक्ससले दैनिक अनलाइनमार्फत शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई पढाइ र गृहकार्य सुरु गराएको नेक्ससका संस्थापक प्राचार्य आरबी कटवालले जानकारी दिए । ।

‘ कोरोना संकटका कारण हामी सबै लकडाउनमा बस्न बाध्य छौँ । तर घरमैँ अभिभावकहरु इन्टरनेटमा जोडिइहाल्नुभएको हुन्छ भने किन सुरु नगर्ने भनेर हामीले अनलाइन कक्षा सुरु गरेका छौँ । हाम्रा शिक्षक शिक्षिकाले अभिभावकलाई अनलाइनमार्फत विद्यार्थीहरुलाई सिकाउने तथा नबुझेका विषयमा जानकारी गराउने गर्नुहुन्छ ।’ उनले बताए ।

उनका अनुसार लकडाउनका कारण पनि अनलाइन कक्षा प्रभावकारी बनेको छ । अभिभावक घरमैँ रहने अनि विद्यार्थीहरुलाई उहाँहरुले पनि केही निर्देशन दिने सिक्ने सिकाउने वातावरण बन्ने हुनाले पनि अनलाइन कक्षा प्रभावकारी बन्न पुगेको उनले बताए । अनलाइनमा कक्षा एलकेजीदेखि १० सम्मका विद्यार्थीहरुलाई सिकाउनमा थालिएको विद्यालयले जनाएको छ ।

विद्यालयले कक्षा एलकेजीदेखि नै हरेक कक्षाका अभिभावकहरुसँग पनि अनलाईनमार्फत विद्यार्थीहरुका अभिभावकसँग समन्वय गरी अध्ययन अध्यापनको वातावरण मिलाउने, विद्यार्थीका आनीबानीबारे जानकारी लिने गर्ने गरेको छ । अनलाइन कक्षामा विद्यार्थीहरुका लागि शिक्षक शिक्षिकाहरुले राखेका विषयगत पाठ्य सामग्री पढेर र श्रव्य–दृष्य हेरेर गृहकार्य गर्ने, आफ्नो काम अपलोड गर्ने, समस्याहरु राख्ने, गुगल मिटमा शिक्षकहरुले सञ्चालन गर्ने प्रत्यक्ष भिडियो कक्षामा सहभागी हुने सुविधा पाउने छन् ।

अनलाइन कक्षाको समय, समन्वय र व्यवस्थापनका लागि विद्यालयका तहगत संयोजकहरुले काम गरिरहेका छन् । साना नानीहरुलाई के कसरी संयोजन गरिएको छ त भन्नेबारे प्राथमिक तह कोअर्डिनेटर उर्मिला पौडेल भन्छिन्– ‘हामीले सबै कक्षाका अभिभावकसँग समन्वय गरी के केसरी साना नानीलाई पनि सृजनशील बनाउने भन्नेबारे अनलाइनमार्फत नै जानकारी दिन्छौँ । उहाँहरुलाई असाइनमेन्ट दिन्छौँ अनि अनलाइनमार्फत नै चेक गरेर भए, नभएको मिले नमिलेको जानकारी गराउँछौँ ।’

विद्यालयको यस्तो कार्यले अभिभावकलाई पनि खुशी मिलेको छ । विद्यार्थीहरुले अनलाईन कक्षाबाट आफूले घरमा रहँदा गरेका सृजनशील कार्य सबै साथीहरु र शिक्षक शिक्षिकालाई अनलाइनमार्फत नै देखाउन पाएका छन् भने उनीहरुमा पनि प्रविधि जान्नुका साथै सिक्ने क्षमता पनि वृद्धि भएको छ ।