अज्ञात समूहद्वारा विभिन्न ठाउँमा आगजनी र विष्फोट : कहाँ के भयो ?

रुकुम/वीरगन्ज/सिन्धुली/नवलपुर/सोलुखुम्बु/पाल्पा/ विराटनगर : आइतबार राती र सोमबार बिहान देशका विभिन्न ठाउँमा अज्ञात समूहले आगजनी र विष्फोट गरेका छन्। आगजनी र विष्फोट एनसेल, रेडियोको टावर,वडा कार्यालय र नेताको घरमा लक्षित गरेर गरिएको छ। 

विष्फोट र आगजनीबाट भौतिक संरचनामा क्षति पुगेको छ । अन्‍नपूर्ण जिल्ला संवादाताहरुले आ-आफ्‍नो क्षेत्रमा भएको आगजनी र विष्फोटबारे समाचार पठाएका छन्। हेरौं कहाँ के भयो?

रुकुमको वडा कार्यालयमा आगजनी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ को वडा कार्यालयमा आगलागी भएको छ । सोमबार बिहान अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकरी दिए । आगलागी भएको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बाँफिकोट र अस्थायी प्रहरी चौकी छिन्खेतबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

कसले र किन आगजनी गरेको हो ? भन्ने अहिलेसम्म केही नखुलेको डिएसपी केसीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने अनुमाण गरेको छ । तर अहिलेसम्म घटनाको कसैले पनि जिम्मा लिएको छैन । 

वीरगञ्ज मेडिकल कलेज सञ्चालकको घरमा प्रेसर कुकर बम

नेशनल मेडिकल कलेज सञ्चालक बसरुद्धिन अन्सारीको घरमा सोमबार बिहान प्रेसर कुकर बम भेटिएको छ ।

वीरगन्ज महानगरपालिका-८ पानीटंकी गल्लीमा रहेको अन्सारीको घरको मु्लगेटमा बिहान भेटिएको कालो रंगको ब्यागभित्र प्रेसरकुकर बम रहेको नेपाली सेनाले जनाएको छ ।

झोला भित्र डेटनेटेर, ब्याट्री र विफोटक पदार्थसहितको प्रेसर कुकर बम भेटिएको वीरगन्जमा रहेको नेपाली सेनाको चण्डी प्रसाद गणका सेनानी नरबहादुर विष्टले बताए ।

उनले भने, ‘सेनाको बम डिस्पोजल टोलीले झोला खोलेर हेर्दा प्रेसर कुकर भित्र २ वटा डेटोनेटर र ब्याट्री जडान गरेर बिस्फोटक पदार्थ राखिएको भेटिएको हो । उक्त प्रेसर कुकर बम , सेनाको टोलीले निस्कृया पारेर ब्यारेकमा ल्याएको छ,’ उनले भने, ‘अब यसलाई ल्याब टेष्ट गरेपछि यो कुन प्रविधिको विस्फोटक बम हो भन्ने थाहा हुन्छ ।’  

नेकपाका जिल्ला सदस्यसमेत रहेका अन्सारीको परिवार बस्दै आएको घरको फलामे गेटमै बिहान झोला सहितको शंकास्पद वस्तु देखेपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए ।

अन्सारीको घरअगाडि रहेको डेसीमल कलेजको सिसिटिभी क्यामेरमा रेकर्ड भएको श्रव्यदृश्यमा बिहान २ बजेतिर एक जना अपरिचित व्याक्तिले अन्सारीको घरको गेट अगाडि झोला राखेर गएको देखिएको छ ।

उक्त श्रव्यदृश्यमा देखिएका व्याक्तिको खोजीका लागि शंकास्पद होटल र स्थानहरुमा प्रहरी परिचालन गरिएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए ।

सिन्धुलीमा एनसेल टावरमा आगजनी

सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित जयमंगलमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

गएराती अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धसुलीकी एसपी रञ्जु सिग्देलले जानकारी दिइन् । आगजनीबाट टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको छ ।

‘एनसेल टावरमा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ,’ उनले भनिन् ।

आगलागी कारण त्यस क्षेत्रमा एनसेल सेवा अवरुद्ध भएको छ । आगलागी स्थलमा इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली पुगेर क्षतिको विवरण संकलन गरेको छ । एसपी सिग्देलका अनुसार आगलागीमा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

सोलुखुम्बुको रेडियो टावरमा आगोलागी

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेडाँडामा रहेको रेडियो दुधकोशी ९४.६ मगाहर्जको रिपिटर टावरमा आगोलागी भएको छ । गए राति भएको आगोलागीबाट काठ र ढुंगाबाट बनेको तीन कोठे एक तले घर जलेर नष्ट भएको हो ।

केही महिनादेखि प्रसारण बन्द रहेको रेडियोको केही सामाग्री जलेको छ भने, ईन्टरनेट प्रदायक संस्था वेव सर्वर प्रा.लि.का विद्युतीय सामाग्रीसमेत जलेको छ । साँझदेखि लागेको आगो स्थानीयले थाहा पाएपछि पत्तालेबाट प्रहरी र स्थानीय पुग्दा घर पुर्ण रुपमा जलिसकेको थियो ।

ईन्टरनेटका सामाग्री राखिएको कोठाबाट आगो फैलिएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

पाल्पामा एनसेल टावरमा आगजनी

अज्ञाता समुहले पाल्पाको बगनासकाली गाउँपालिका-९ चापपानी बगनासडाडामा रहेको एनसेल टावरमा आगजनी गरेको छ । आइतबार राति करिब १० बजेको समयमा कमाण्डको ताला फोरेर जुटको बोरामा मट्टिटेल छर्की एनसेन टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

आगजनीले टावरमा जाने तार पुर्णरुपमा जलेको छ । आगजनीबाट जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स, केबल तारलगायतका सबै सामग्री पुर्ण रुपमा क्षति भएको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी.ले बताए । 

आगजनी कसले र किन गर्यो भन्नेबारे अहिलेसम्म आधिकाररिक रुपमा पहिचान नभए पनि प्रहरीले विप्लप माओवादीलाई आंशका गरी अनसुन्धान अगाडि बढाएको छ । यस अघि पनि पाल्पामा विप्लप माओवादी कार्यकर्ताले रहवास, जप्कादीमा एनसेलको टावरमा आगजनी गरी क्षति गरेका थिए । आगजनी भएपछि बगनासकालीदेखि स्याङ्गजाको विर्गा, आलमदेवी लगायतका क्षेत्रमा एनसेनलको मोबाइलको सम्पर्कविच्छेद भएको छ ।

नवलपरासीका ३ एनसेल टावरमा आगजनी

पूर्वी र पश्चिम नवलपरासीका तीन एनसेल टावरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । दुई जिल्लामा आइतबार राती आगजनी भएको हो । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ को कोटथरमौला र कावासोती नगरपालिका–१७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक एंव सूचना अधिकृत गणेशबहादुर नराल क्षेत्रीले जानकारी दिए ।

टावरमा आगजनी भएको खबर पाएपछि प्रहरीको टोली त्यस स्थानमा पुगेको थियो । एनसेल टावर रहेको कम्पाउन्डको ताला फोडेर आगजनी गरिएको हो । जुटको बोरामा मट्टितेल राखेर गरेको आगजनीबाट जेनेरेटर र मेशिनमा क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । स्थानीयको सहयोगमा समयमा आगो नियन्त्रण लिएकाले थप क्षति हुन नपाएको उनले जानकारी दिए ।

त्यसैगरी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–९ करमैनीस्थित एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । आगजनीबाट तारहरु जलेका छन् । आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  आगजनी विप्लव समूहले गरेको हुन सक्ने आशंकका प्रहरीको छ ।

मोरङको एनसेल टावरमा बम विष्फोट

मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रेडाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

आइतबार साँझ ७ बजेतिर गराइएको विष्फोबाट टावरमा क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । बम विष्फोटसँगै गरिएको आगजनीबाट जेनेरेटर, पावर प्लान्ट, एलटी पेनल र केवल वायरहरुमा क्षति पुगेको जानकारी थापाले दिए ।

वायरहरु काटेर पनि क्षति पुर्‍याइएको उनले बताए । स्थानीय बासिन्दाले तीन पटकसम्म विष्फोटको ठूल्ठूला आवाज आएको बताएका छन् ।

१०-१२ जनाको संख्यामा रहेको समूहले घटना गराएर त्यहाँबाट फरार भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । इलाका प्रहरी कार्यालय केराबारीबाट नायव निरीक्षक (सइ) खड्ग राईको नेत्रृत्वमा प्रहरी टोली सोमबार बिहान ९ बजे मात्रै घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार सुगम जिल्ला मोरङको दुर्गम र विकट क्षेत्र भनेर चिनिने सिंहदेवी केराबारी गाउँपालिका केन्द्रबाट लगभग ३५ किलोमिटर उत्तरमा पर्छ ।

घटना कसले गराएको हो भन्ने यकिन भइनसकेको र घटनास्थलमा कुनै प्रमाणहरु फेला नपरेको डीएसपी थापाले बताए ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले विष्फोट गराएको हुन सक्ने आशंका गरिएको उनले बताए ।

टावरको सुरक्षाका लागि तारले घेराबारा गरेर भित्र प्रवेश गर्नका लागि बनाइएको मुख्य गेटमा बम जस्तै अज्ञात वस्तु पनि झुन्ड्याइएको छ । पहेंलो झोलामा ‘बम छ’ भन्ने लेखेर झुन्ड्याइएको पोकोबाट प्वाल पारेर तार बाहिर निकाल्दै गेटमा झुन्ड्याएको अवस्थामा अज्ञात वस्तु फेला परेपछि जनजीवन त्रसित बनेको छ ।