फेस टु फेस पढाई तत्काल सम्भव छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी राखेर पठपनपाठन गराउन तत्काल सम्भव नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा शिक्षामन्त्री पोखरेलले ‘फेस टु फेस’ पढाइ तत्काल सम्भव नभएको बताउनुभयो ।

प्रत्यक्ष पढाइ सम्भव नभएकाले विकल्पमा छलफल भैरहेको जानकारी दिँदै उहाँले विद्यार्थीलाई घरमै गएर पढाउने लगायतका विकल्प उपर्युक्त हुने बताउनुभयो । यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको उहाँको भनाइ छ ।

बैठकमा सांसदहरुले पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भन्नेबारे सरकारको धारणा मागेका थिए ।

जवाफमा मन्त्री पोखरेलले पुरै शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह गरिरहेको जानकारी दिनुभयो ।