काठमाडौँ उपत्यका १५ दिनका लागि सटडाउन

काठमाडौँ  – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि १५ दिनका लागि ‘सटडाउन’ हुने भएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको हो ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । सटडाउन भएसँगै काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको हो ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।