कर्माछिरिङ शेर्पाद्धारा उम्मेदवारी घोषणा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा आज आयोजित कार्यक्रममा शेर्पाले एन्फाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन । शेर्पासमूहकै प्यानलको उम्मेदवारी घोषणा भएको छ ।

शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सरस्वती युथ क्लबका शिक्षित पराजुली, उपाध्यक्षमा दीर्घ बहादुर केसी (कुमार), रत्न कुमार श्रेष्ठ, उपेन्द्रमान सिंह र विज्ञानराज शर्माले उम्मेदवारी घोषणा गरेका छन। त्यसैगरी सदस्यहरुमा फ्रेण्डस क्लबका दिपक थापा, सिराहा जिल्ला फुटबल संघका अध्यक्ष प्रविण यादव, सागा क्लबका रुपेश अधिकारी, लमजुङ जिल्ला फुटबल संघका लोकेन्द्र गुरुङ, बागलुङ जिल्ला फुटबल संघका रामराजा गुरुङ, मकवानपुरका टिकाराम लामा, बाँकेका प्रदेश संह राठौर, जुम्लाका भरत गुण थापा, मछिन्द्रका टिम व्यवस्थापक अनिल श्रेष्ठ, च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट र श्री भगवती क्लबका अध्यक्ष मनिष जोशीले छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष टासी घलेले शुभकामना सन्देश पठाएको जानकारी दिइएको थियो । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन । एन्फाको चुनाव असार ६ मा हुँदैछ । चुनावी सरगर्मीसँगै यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका राजीव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष शेर्पाले कोभिड महामारीबीच एन्फाले उल्लेख्य काम गरेको भन्दै कतिपय अधुरा र कतिपय नयाँ योजना कार्यान्वयनका लागि आफू नेतृत्वको टिमले जित्नुपर्ने बताए ।उनले भने –‘कोभिड महामारीले आफ्नो धेरै योजना कार्यान्वयनमा समस्या आयो तथापि कोभिड चिर्दै उल्लेख्य काम गरेका छौँ । फुटबलमा लिगको निरन्तरता, त्रिदेशीय फुटबल भयो । विभिन्न ३४ अन्तर्राष्ट्रिय खेल पनि भए तर कतिपय योजना अझै पूरा गर्न पाएका छैनौँ । धेरै कार्य गर्नुछ त्यसैले पनि हाम्रो उम्मेदवारी जरुरी छ ।’

‘क्यापासिटी बिल्डिङअन्तर्गत प्रशिक्षण र रेफ्रीका कोर्स, आर्थिक नियमावली, खेलाडी दर्ता नियमावली बनायौं । अनलाईन दर्ता प्रक्रिया थाल्यांैँ अब अनलाइनबाटै खेलाडी दर्ता हुन्छ । यो बाहेक क्लब लाइसेन्स लगायतका उल्लेख्य काम भएका छन । ’ उनले स्पष्ट पारे ।

कार्यक्रममा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका अध्यक्ष सुनिल कपालीले कर्माछिरिङ शेर्पाको नेतृत्वपछि क्लबका सुविधा वृद्धि गर्नुका साथै लिगलाई व्यवस्थित गरेका कारण एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले निरन्तरता पाउनुपर्ने बताए । त्यस्तै, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ लगायतका सहभागीले पछिल्लो पाँच वर्ष गरेको कामको आधारमा शेर्पा प्यानललाई थप एक कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए ।