भर्चुअल कक्षा सञ्चालनका लागि कार्यदल गठन

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।अनलाइन शिक्षण तालिम दिनका लागि संगठनले लकडाउन अवधिभर सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्न लागेको केन्द्रीय उपाध्यक्ष ईन्द्रराज भट्टराईले खुल्लापाटीलाई जानकारी दिए ।

बैठकले तालिम सञ्चालन प्याकेज तयार गर्न भट्टराई संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा संगठनका केन्द्रीय सदस्य देविदत्त पौडेल सह-संयोजक छन् । माधव महरा, अन्जु लामा, सुशील उप्रेती, राजेन्द्र महरा र भुवन सुवेदी सदस्य छन् । कार्यदललाई एक हप्ताको समयावधि दिइएको छ ।

त्यस्तै, देशभर प्रविधिमैत्री १ हजार शिक्षकको रोस्टर तयार गर्ने पनि संगठनले जनाएको छ । बैठकले प्रविधिमार्फत् तत्काल अध्ययन/अध्यापन गराउने वातावरण तयार गर्न शिक्षा मन्त्रालयललाई विशेष कार्ययोजना निर्माण गर्न माग गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, शिक्षक महासंघले घोषणा गरेको एक दिनको तलबमानको कोरोना राहत प्याकेज जम्मा गर्न सबै आबद्ध घटकहरुसँग छलफल पनि गर्ने भएको छ । त्यस्तै, सबै तहका कमिटीहरुको अनलाइन बैठक बैशाख महिनाभित्र सम्पन्न गर्ने भएको छ ।