प्याब्सन पदाधिकारीले शिक्षामन्त्री पौडेललाई भेटेर के भने ?

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय पदाधिकारीसँग शिक्षामन्त्री देवेन्द्र पौडेलले समसामयिक विविध विषयमा छलफल गरेका छन । शिक्षा मन्त्रालयमा भएको छलफलमा आगामी शैक्षिक सत्र, पाठ्यक्रम, शैक्षिक गुणस्तरताको उन्नयन लगायतबारे छलफल भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याब्सनका कार्यवाहक महासचिव आरबी कट्वालले खुल्लापाटीलाई जानकारी दिए ।

उनले भने –‘शिक्षा क्षेत्रको समसामयिक विविध मुद्धाबारे मन्त्रीज्यूसँग खुलेरै छलफल भयो । उहाँले हामीले राखेका विषय ध्यानपुर्वक सुन्नुभयो र निजी शैक्षिक संस्थाले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दैै सरकार सकारात्मक रहेको बताउनुभयो ।’ कटवालका अनुसार आगामी शैक्षिक सत्र वैशाखबाटै गराउने गरी मन्त्रालयले तयारी थाल्ने भएको छ ।

‘ वैशाखमा शैक्षिक सत्र सुरु गर्नेगरी तयारी थाल्ने कुरा भएको छ । हालको पाठ्यक्रममा सेरोफेरो विषयबारे पनि छलफल भयो । सामाजिक शिक्षालाई नेपाली बनाउँदा अन्तर्राष्ट्रिय फोरम वा भविष्यमा उच्च शिक्षा लिँदा विद्यार्थीहरुलाई सहज नहुने देखिएकोबारे छलफल भएको छ । ’ भेटमा विद्यालयका विद्यार्थीहरुलाई पनि फाइजर खोप विद्यालयमा उपलब्ध गराउनेबारे छलफल भएको थियो । यसमा मन्त्री पौडेल सकारात्मक रहेको उनले बताए ।

प्याब्सन अध्यक्ष टिकाराम पुरीको नेतृत्वमा प्याब्सनका पदाधिकारी मन्त्री पौडेल भेटन मन्त्रालय पुगेका थिए ।