आयोजक लोयल्टी च्याम्पियन

काठमाडौं– काठमाडौँ बुढानिलकण्ठस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आयोजक लोयल्टी एकेडेमीले हात पारेको छ ।

मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो । लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो । लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे ।

लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पा-यो ।

विजेतालाई संघीय सांसद प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको हो । विगतका १० संस्करण नकआउट पद्धतिमा भएको थियो ।