पर्सामा थप ४५ जनामा संक्रमण

काठमाडौँ – पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका २ जना पनि छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमितहरूमा १४ जना महिला र ३१ जना पुरूष छन् । संक्रमित सबै पर्साका हुन् । वीरगञ्जका ४३ जना, सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच संक्रमित बढ्दै गएको भन्दै पर्सा जिल्लाभर सोमबारदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।