एपेक्स लाइफमा वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ–एपेक्स लाइफ स्कुलले  वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले ‘एनुअल कल्चर एक्सप्रेसन डे २०७९’ का रुपमा कार्यक्रम आयोजना गरी मनाएको हो । चावहिल सरस्वतीनगरस्थित विद्यालय प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रखर प्रेरक प्रवक्ता एवं इस्कोन समितिका अध्यक्ष गुरु रुपेशश्वरदासले विद्यालयमा बालबालिकालाई समय सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै आफ्नो भाषा, संस्कृति र मौलिकता जगर्ना गर्ने गरी पठनपाठनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष सुवास न्यौपानेले संस्कारसहितको शिक्षाले मात्र एउटा पूर्ण मानवको परिकल्पना गर्न सकिने भन्दै एपेक्समा हुने विभिन्न सिर्जनात्मक र रचनात्मक क्रियाकलापले विद्यार्थीहरुमा शिक्षा, ज्ञान र नैतिक मूल्य मान्यताको अभ्यास र आत्मविश्वास बढेको जानकारी दिनुभयो ।

विद्यालयले स्कुलमा पाठ्यपुस्तकभन्दा पाठ्यक्रमलाई आधार मानेर शिक्षण गरिएको र एक्काइसौ शताब्दी सुहाउँदो आधुनिक र गुणस्तरीय शिक्षामा जोड दिइएको स्पष्ट पार्नुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक प्रभात क्षेत्रीले पौराणिक संस्कार बिर्सिदै गएको अवस्थाबाट फर्केर आफ्नै मौलिकतातर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भाषा, धर्म, संस्कतिलाई जगेर्ना गर्ने खालका गीत र आकर्षक नृत्यका साथै बाचौँ, बचाऔँ भन्ने मूल भाव झल्केको अङ्ग्रेजी नाटक प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा दशवर्ष शिक्षण गरेका नेपाली विषयका शिक्षक रामप्रसाद रेग्मी, तेक्वान्दो शिक्षक विश्वराज राई, स्काउट शिक्षक अब्दुल मियाँ, आर्ट एण्ड क्राफट शिक्षक बालकृष्ण खयर गोली, संगीत शिक्षक सप्पन घिमिरे र कर्मचारी सीता चौधरीलाई सम्मान गरिएको थियो ।
विद्यालयले गत वर्षबाट कक्षा १ देखि ३ कक्षासम्मको पाठ्यक्रमलाई आधार मानेर रचनात्मक र सिर्जनात्मक बनाउने उद्देश्यका साथ किताबरहित शिक्षण सिकाइमा जोड दिएको छ । यस वर्षदेखि शिशु कक्षा पनि सञ्चालन गर्न थालेको सो विद्यालयले जनाएको छ ।

तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा रहेको विद्यालयमा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने मान्यतामा जोड दिइएको छ ।

विसं २०४० मा शिशु निकेतनको नामबाट सुरु भएर पछि यसलाई सिरिन भ्याली स्कुलको नामबाट सञ्चालन गरिएकोमा २०६७ सालदेखि एपेक्स लाइफ स्कुल नामकरण गरिएको थियो । २०७३ सालदेखि यो विद्यालय चावहिल सरस्वतीनगरमा सञ्चालन हुँदै आएको छ । मन्टेश्वरीदेखि १० कक्षासम्म पढाइने यहाँ हाल करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले ब्रिटिस काउन्सिल अवार्ड, राइजिङ स्कुल अवार्ड र द वेस्ट स्कुल अवार्ड प्राप्त गरेको छ ।