आज सरस्वती पूजा, भब्य रुपमा सम्पन्न

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

यही र सरस्वती देवीका यस्तै आराधनासहित विद्याकी अधिष्ठात्री सरस्वती देवीको पूजा एवं वसन्त पञ्चमी देशभर भब्य रुपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।आजै वसन्त पञ्चमी पनि हो । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिने गरिएको हो । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइने भएकाले देशभरका शिक्षालयहरुमा साना नानीहरुलाई अक्षरारम्भ गराइएको छ । सरस्वती पूजाकै अवसरमा विभिन्न शिक्षालयहरुमा विविध कार्यक्रम गरिएको छ ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ ।