शैक्षिक क्षेत्र राजनीतिक नबानोस् : शिक्षा राज्यमन्त्री

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षालय राजनीतिक मैदान बनाउन नहुने बताउनुभएको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा निरन्तर भएको राजनीतिकरण भएको भन्दै शैक्षिक क्षेत्र राजनीतिक मैदान बनाउन नहुने उहाँले बताउनुभयो ।
शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले विद्यालय शिक्षास्तरमा शिक्षक राजनीतिमा लाग्न नहुने बताउनुभयो ।

शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सो अनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोग हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले सार्वजनिक गरेको शिक्षाको सोचपत्र शिक्षा विकासको समग्र पक्षमा केन्द्रीत रहेको जानकारी दिनुभयो । त्यस्तै, शिक्षाविद् प्रा.डा.वासुदेव काफ्लेले शिक्षा पत्रकारले खोजी पत्रकारिता र जनचेतनाका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै समाजका अध्यक्ष प्रकाश सिलवालले शैक्षिक सुधारका लागि समाजले निरन्तर कलम चलाएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा पत्रकार समाजले शिक्षाको सुधारमा समर्पित विभिन्न शिक्षासेवीलाई सम्मानित गरेको थियो । यस क्रममा धनुषाको जनता माविका प्रधानाध्यापक पवन मण्डल, काठमाडौँको जनकल्याण माविका प्रधानाध्यापक कुमारीकमला राई र विश्वनिकेतन माविका व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ र काभ्रेको जनज्योति माविका प्रधानाध्यापक भानुभक्त मैनाली सम्मानित भएका हुन ।

पत्रकारतर्फ समाजले स्थापना गरेको रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी पत्रकार तारा चापागाइँलाई प्रदान गरिएको छ ।

सिलवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यसैबीच, शिक्षा पत्रकार समाजले अध्यक्ष प्रकाश सिलवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, महासचिवमा गोरखापत्रका शेषकान्त पण्डित, सचिवमा बिबिसी नेपाली सेवाका मतिना त्वनाबसु, कोषाध्यक्षमा शिक्षालय मासिकका श्याम तण्डुकार चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा रेडियो नेपालका यशोदा अधिकारी, जुपिटर मिडियाका सुनिल आचार्य, कान्तिपुर दैनिकका विद्या राई, रेडियो सगरमाथाका शर्मिला विश्वकर्मा, मधेस दृष्टि दैनिकका सुरेशकुमार यादव, खबरएजुकेशन डटकमका लक्ष्मीप्रसाद ढकाल र इडियु सवाल डटकमका विपिन पोखरेल रहेका छन् ।बन्दसत्रले निवर्तमान कार्यसमितिको साङ्गठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको छ ।