बालबालिकालाई धमाधम कोभिड विरुद्धको खोप दिइँदै

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विद्यालयमा अध्ययनरत बालबालिकालाई सरकारले धमाधम कोरोना भाइरस विरुद्धको खोप दिन थालेको छ । विद्यालयमा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई धमाधम कोरोना विरुद्धको खोप दिन थालिएको हो । विभिन्न विद्यालयले आफ्ना विद्यार्थी तथा नजिकका बालबालिकालाई विद्यालयमा डाकेर खोप दिन थालेका हुन ।

काठमाडौँको पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पनि बुधबार विद्यार्थी तथा टोलबासी बालबालिकालाई खोप दिएको छ । नेक्ससका संस्थापक प्राचार्य आरबी कट्वालले २०६१ साल मंसिरदेखि २०६६ साल मंसिरसम्म जन्मिएका बालबालिकालाई खोप लगाइएको जानकारी दिए । अभियान विहीबार पनि जारी रहने उनको भनाइ छ ।

सरकारले कोरोनाको हटस्पट बनेको काठमाडौँ उपत्यकामा भौतिक कक्षा बन्द गरी खोप जोड दिएको हो । उपत्यकाको भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिन थालिएको थियो भने काठमाडौं र ललितपुरमा फाइजर खोप दिइन थालिएको हो ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।

लक्षित सबै बालबालिकालाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको जनाएको छ ।