६ कम्पनीका स्यानिटाइजर विक्री वितरणमा प्रतिबन्ध

काठमाडौँ -औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाएन मेथानोल भेटिएपछि विभागले ती कम्पनीका स्यानिटाइजर विक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड अनुरुपको नपाईपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।

सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।

यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।