पाठ्यपुस्तक तयार : पखाई विद्यालय खुल्ने दिनको (भिडियोसहित)

काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले यो वर्षका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तयार पारिसकेको बताउनुभएको छ ।

विद्यालयले सिकाउनका लागि पाठ्यपुस्तक नै कुर्न पर्देन भन्दै उहाँले पाठ्यक्रम विकास केन्द्रकोे वेवसाइटमा कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक राखिएको छ र आवश्यक परे डाउनलोड गरेर सिकाउन सकिन्छ भन्नु भयो ।

शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन कसरी ? विषयक भर्चुअल शिक्षा बहसमा बोल्दै केन्द्रका निर्देशक भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो– यसवर्ष कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने हो अहिले रोकिएको भनेको कक्षा १ को नीजि क्षेत्रले छपाई गर्ने थप पाठ्यसामग्री हो । उक्त कक्षाको सरकारले तयार गरेको पाठ्यपुस्तक छापिइसकेको अवस्था छ । ‘दुर्गमका ४ जिल्लामा त पठन–पाठन नै फागुनदेखि शुरु भइसकेको छ । पाठ्यपुस्तक वितरणको समस्या छ छपाइको छैन’, निर्देशक भट्टराईले भन्नुभयो ।

कक्षा ५ देखि माथिका कक्षाका पाठ्यपुस्तकको बारेमा लकडाउन अगाडि नै जनकशिक्षा सामग्री केन्द्रमा निर्देशन पठाइसकिएको भन्दै छपाइ पनि धेरै भइसकेको र अहिले वितरण खुलिसकेकाले छिट्टै विद्यालयमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा पाठ्यक्रम विकास केन्द्रले मात्रै पाठ्यपुस्तक तयार पार्ने र जनक शिक्षा सामग्री केन्द्र वा सुचीकृत निजी मुद्रक तथा प्रकाशकबाट मात्रै प्रकाशित हुने उहाँले बताउनुभयो । कक्षा १ मा नयाँ पाठ्यक्रम लागु भएकाले अहिले यसका थप पाठ्यसामग्री स्वीकृत भइनसकेको र यही हप्ताभित्र स्वीकृत भइसक्ने उहाँले जानकारी दिनुभयो ।

पाठ्यपुस्तक बालअधिकार भएकाले विद्यार्थीले पाठ्यसामग्री, सिकाइ सामग्री पाउनुपर्ने र सिकाइ सामग्री पुर्याउने काम स्थानीय तह, विद्यालय, शिक्षक सबैले गर्नुपर्ने उहाँले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले जनक शिक्षाले यो बर्ष छाप्ने १ करोड ७५ लाख सेट पुस्तक मध्ये ९० प्रतिशत पुस्तकको छपाई सकिइसकेको जानकारी दिनुभयो । उहाँले अबको दुई हप्ताभित्र ति पुस्तक पनि छपाइगरी सकिने बताउनुभयो । उहाँले भन्नुभयो हामीले अहिले सेटमै पाठ्यपुस्तक उपलब्ध गराउन सक्छौं, हाम्रो यस किसिमको तयारी छ ।

लकडाउनको अबधिमा पनि जनकले पुस्तक छपाईको काम गरिरको उहाँको भनाई छ । हामीकहाँ देशभरीबाट करिब ११ सय पुस्तक व्यवसायी जोडिनुभएको छ । उहाँले भन्नुभयो, पहिलो चरणमा सरकारले जनकसँग जोडिएका व्यवसायीलाई बाटो खोलेको हो कि जस्तो लाग्छ । हामीले फागुनसम्ममा सूचीकृत हुनुहोला भनी सूचना सार्वजनिक गरेका छौं । अहिलेपनि सूचीकृत हुने र नवीकरण हुन चाहनेहरुका लागि जनकले ढोका खुल्ला गरेको छ ।

शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सम्बन्धित एजेन्ट, सम्बन्धित पुस्तक पसलहरु मार्फत् विद्यालयमा पुर्याउन सकियो भने बालबालिकाको हातमा पुग्नसक्छ भन्ने मलाई लाग्दछ । अनलाईन, टेलिभिजन, रेडियोजस्ता माध्यमबाट पठन पाठन हुंदा पनि बच्चालाई सजिलोको लागि पुस्तक आवश्यक छ । उहाँले भन्नुभयो, स्थानीय सरकारले आफ्नो पालिकामा रहेको शिक्षा शाखाबाट कुन पुस्तक कति चाहिने हो र कहाँ चाहिने हो भन्ने तथ्यांक लिएर पाठ्यपुस्तक उपलब्ध गराउने निकायहरुमा पठाउन सके पुस्तक सजिलै उपलब्ध हुन सक्छ । यति गर्न सकियो भने हप्तादिन लगाएर पुस्तक बच्चाको हातमा पुर्याउन सकिन्छ । त्यसका लागि एकैसमयमा र एकै दिनमा होइन समय र कक्षा छुट्याएर काम गर्नुपर्छ ।

नेशनल प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले नयाँ पाठ्यपुस्तक बालबालिकाको हातमा पर्दा एक महिनासम्म उनिहरुलाई चलायमान बनाउने हुँदा यसको वितरण प्रक्रियालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले सिकाइका लागि विभिन्न माध्यमको अभ्यास गरिरहेको भएपनि पाठ्यपुस्तकको भूमिका अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले अहिले संघ, विभिन्न प्रदेश र विभिन्न स्थानीय तहले विभिन्न खालको सूचना र निर्देशनहरु दिइरहेका हुँदा त्यसमा एकरुपता ल्याउन जरुरी भएको बताउनुभयो ।

शैक्षिक शत्रको अन्त्य नहुँदै लकडाउन भएको हुदा पाठ्यपुस्तक सूची सार्वजनिक गर्न ढिलाई भएको उहाँको भनाई थियो । नीतिगत रुपमा यो नमिल्ने भएपनि उहाँले यो बर्षको लागि विद्यालयलाई जिम्मादिने तर विद्यालयसम्म पाठ्यपुस्तक पुर्याउने काम पुस्तक बिक्रेताहरुले गर्न सक्ने उहाँले बताउनुभयो । सबै बालबालिकाको हात र कम खर्चिलो बनाउनका लागि रुपन्देही नेशनल प्याब्सनले शैक्षिक शत्र २०७६ मा संचालनमा भएका प्रकाशनकै पाठ्यपुस्तक संचालन गरेको अभ्यासलाई पनि लागू गर्न सकिने उहाँले बताउनुभयो ।

प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यले लकडाउनले बालबालिकालाई घरभित्र थुनिन बाध्य पारेको यो अवस्थामा केही मात्रामा बैकल्पिक माध्यमको प्रयोगबाट बच्चासम्म पुग्ने प्रयास गरेको देखिएको बताउनु भयो । तर, पाठ्यपुस्तक बालबालिकाको हातमा पुर्याउनुपर्ने बाध्यात्मक स्थिती रहेको भन्दै उहांले सरकारले जनक शिक्षासँग जोडेर कुरा उठाएको हुंदा अन्यौलता देखिएको बताउनु भयो ।

स्थानीय रुपमा स्वीकृती लिइ स्कुल नजिक र गाउँ टोलमा खोलिएका पुस्तक पसल बालबालिकाको हातमा पुस्तक पुर्याउने सबैभन्दा सजिलो माध्यम भएको हुँदा यसतर्फ राज्यले सोच्न जरुरी भएको उहाँको भनाई छ । नजिकको पुस्तक बिक्रेताले स्कुलमा नै पुगेर लकडाउनलाई पालना गरेर वितरण गर्न पनि सकिने सुझाव उहाँले दिनुभयो । अहिलेको अवस्था अति आवश्यक भएको अवस्थामा बाहेक धेरैजसो विद्यालयले गत सालकै प्रकाशनका पाठ्यपुस्तक लगाउने मनस्थितीमा भएको र यसले पाठ्यपुस्तक सुलभ र सहज हुनेमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव दिवाकर घिमिरेले पाठ्यपुस्तक बिक्री वितरणमा आफुहरु सहयोगी रुपमा रहन चाहेको भएपनि राज्यले पुस्तक व्यवसायीहरुलाई उपेक्षा गरेर जान खोजेको आरोप लगाउनुभयो ।

उहाँले राज्यको कानूनमै दर्ता भएर संचालनमा रहेका हजारौं पुस्तक व्यवसायी रहेको अवस्थामा जनकसँग मात्रै सम्बन्धितलाई अनुमतिले पाठ्यपुस्तक सर्वसुलभ हुन नसक्ने उहाँको तर्क थियो । सामुदायिक विद्यालयका बालबालिकालाई मात्रै पुस्तक दिने सोच राख्नु गलत भएको बताउँदै उहाँले संस्थागत विद्यालयले पठन पाठन गर्ने पाठ्यपुस्तकतर्फको व्यवस्थापनका बिषयमा पनि स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो ।

पाठ्यपुस्तकको ढुवानी, किनबेचलाई औषधी र खाद्यबस्तुको रुपमा स्वाकृती दिने र काम गर्नेहरुलाई परिचयपत्रका आधारमा काम गर्नका लागि छाडिदिने हो भने देशभरमै पाठ्यपुस्तक पुर्याउन सकिने उहाँको सुझाव थियो । नीजि प्रकाशनका पाठ्यपुस्तक तयारी अवस्थामा रहेको हुंदा पाठ्यपुस्तक अभाव नहुने उहाँको भनाई छ ।

भर्चुअल शिक्षा सम्बादमा विभिन्न जिल्ला शिक्षाकर्मी, शिक्षक र पत्रकारहरु गरी झण्डै तीन दर्जनको सहभागीता थियो ।

Education Journalist Group

शिक्षा पत्रकार समूहद्वारा वैशाख २६ गते दिउँसो साढे १ बजे आयोजित ‘चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक/सामग्री व्यवस्थापन कसरी?’ बिषयक सरोकारवाला वीचको ‘अनलाइन बहस’

Gepostet von Khullapati am Freitag, 8. Mai 2020