कोरोनाको नयाँ रेकर्ड : २४ घण्टामा ५७४३ थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

काठमाडौं उपत्यकाका आज २ हजार १ सय सात जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ । जसमध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेका छन ।

संक्रमितमध्ये २ सय ६९ जनाको सघन उपचार कक्षमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभर ४ हजार ६५ जना क्वारेन्टिनमा रहेका छन । बुधबार २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण पहिचानका लागि १३ लाख ३४ हजार ८ सय ९७ वटा पीसीआरको नमूना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणवाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।