आज बडादशैँको पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ – नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

दशैँको पाँचौं दिन आज पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा गरिएको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा यसवर्ष नित्य पूजा मात्र गरिएको छ ।

त्यस्तै नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा पनि पूजाआजा गरिएको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि पूजाआजा गरिएको छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ कोरोना संक्रमण फैलिने त्रासका कारण यस अघिका वर्षमा जस्तो शक्तिपिठहरुमा भक्तालुको भीड भने छैन ।