आइपिएल सुपर ओभरमा पञ्जाव र कोलकाता विजयी

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएरातको खेलमा किंग्स इलेभेन पञ्जाव र कोलकाता नाइराइडर्स विजयी भएका छन्। दुवै टोली सुपर ओभरमा विजयी भए । पञ्जावले मृम्बईलाई र कोलकाताले हैदरावादलाई सुपर ओभरमा हराएका हुन् ।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पञ्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै हिजोको अर्को खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ ।

त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो । हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे ।

यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्नेछन् ।