किर्तीमानी आरोही आङरिता शेर्पाको निधन

काठमाडौँ – विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । काठमाडौँको जोरपाटीस्थित आफ्नै निवासमा आज बिहान १० बजे निधन भएको शेर्पाका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय शेर्पा ‘हिमचितुवा’कोे नामले चिनिनुहन्छ । शेर्पाको पार्थिव शरीर बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको छ ।