भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

काठमाडौँ – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्लो तीन सातादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएका मुखर्जीको उपचारका क्रममा निधन भएको मुखर्जीका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन ।

मुखर्जि आफ्नो राजाजी मार्गस्थित निवासमा लडेपछि मस्तिष्कमा रगत जमेको थियो । मुखर्जिको मस्तिष्कको शल्यक्रिया पनि गर्नुपरेको थियो । सोमबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पताल भर्ना गरिएको थियो । बंगालको एक दुर्गम गाउँमा जन्मिनुभएका प्रणव मुखर्जि पाँच दशकसम्म भारतको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि एक शिक्षक र पत्रकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९६९ मा उहाँ पहिलोपटक राज्यसभामा प्रवेश गर्नुभएको थियो । राज्यसभामा उहाँ पाँच पटक निर्वाचित हुनुभयो ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बन्नुभएको थियो ।