३०९३ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ३९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ५९ को पीसीआर नमूना परीक्षण गर्दा ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकाका आज १ हजार ७ सय २ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ४ सय ३१ जना, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ । जसमध्ये १३ हजार ५ सय ५९जना संस्थागत आइसोलेसनमा र २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन ।

देशभर ४ हजार २ सय २० जना क्वारेन्टिनमा रहेका छन । हालसम्म कोरोना संक्रमण पहिचानका लागि १३ लाख १४ हजार ७ सय ७९ वटा पीसीआरको नमूना परीक्षण गरिएको छ ।

थप ८ जनाको मृत्यु

यसैबीच, कोरोना भाइरस संक्रमणवाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।