स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही थाल्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उहाँले बताउनुभयो । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा कोभिड १९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुर्व्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए ।

४८ जिल्लामा निषेधाज्ञा

मन्त्रालयले हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको जनाएको छ । कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।