सवारी साधनमा जोर बिजोर प्रणाली लागु राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौँ – सरकारले यातायातका साधनमा भोलि (बिहीबार) देखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाउने निर्णय गरेको हो ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोर विजोर हटाएको थियो । गृह मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

मन्त्रालयले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ । २०० भन्दा बढी सक्रिय संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकामा राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भैसकेको छ ।